सोसल मिडिया
Contact Us
युनिकोड
बेनी, १७ चैत । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ । आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए। उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन । बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुबैपक्षले एकआपसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो । दुबै सवारी साधनका धनी स्थानीयवासी नै भएकाले तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकामा आगलागी भएपछि घटना रहस्यमय बनेको छ ।
इँटा बोकेको ट्रकमा आगलागी
भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो । ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ ।–रासस