सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १५ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने उनको भनाइ छ । भिजिबिलिटी कम हुँदा सोमबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरु प्रभावित भएका थिए ।
हावाहुरीसहित वर्षाको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित ÷चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित÷चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।–रासस