सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १५ चैत । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने छ । केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागमा सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार राति प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भयो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र सबैभन्दा बढी र नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहयो ।
प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । मौसम बदलीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्रै सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडानका वायुसेवा कम्पनीले उडान डिले भएको सूचना यात्रुलाई गराएका छन् । बढीमा चार घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण बुद्ध एयरले तुम्लिङटार गन्तव्यमा दुई उडान रद्द गर्नुपरेको र बाँकी सबै गन्तव्यमा साँझ अबेरसम्म उडान भइरहेको कम्पनीले जनाएको छ । “कम भिजिबिलिटीले विमानस्थल आइएफआर अप्रेसन सञ्चालनमा जानेबित्तिकै उडान प्रभावित हुन्छ । डिले उडान राति अबेरसम्म सम्पन्न हुनेछन्”, बुद्ध एयरका सूचना अधिकारी कर्णले भने । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । काठमाडौँ उपत्यकाको आकास आज दिनभरजसो बदली रह्यो । अझै केही दिन उडान प्रभावित हुनसक्ने आँकलन गरी हवाई सेवा प्रदायक कम्पनीले यात्रुलाई समयमै सूचना पु¥याउने प्रयास गरिएको जनाएका छन् । एसएमएस, मोबाइल एप, सामाजिक सञ्जालमार्फत यात्रुलाई समयमै सूचित गरिँदै आएको सूचना अधिकारी कर्णले जानकारी दिए । यात्रुले टिकट काट्दा सही सम्पर्क नम्बर राखेमा सम्बन्धित यात्रुलाई मोबाइलमै सूचना जाने कम्पनीले जनाएको छ । यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत कम्पनीको उडान पनि सामान्य प्रभावित भएको छ ।
उडानबारे जानकारी नदिँदा यात्रुलाई सास्ती : आयोग
राष्ट्रिय मानव अधिकार आयोगले तोकिएका समयमा हवाई उडान हुने नहुनेबारे यात्रुलाई समयमै जानकारी गराउन माग गरेको छ । आयोगले यहाँ आयोजना गरेको ‘हवाई उडान र उपभोक्ता अधिकारसम्बन्धी छलफल’ कार्यक्रममा आयोगकी उपसचिव मञ्जु खतिवडाले उडान नभएपछि समयमा नै यात्रुलाई जानकारी दिनुपर्ने व्यवस्था गरिनुपर्ने बताइन् । अनुगमनका क्रममा हवाई कम्पनी यात्रुको सहज र सुरक्षित यात्राप्रति गम्भीर नभएको पाइएको उनले उल्लेख गरिन् । अनुगमनका क्रममा आठ घण्टासम्म पनि उडान नभएको, विमान कम्पनीले समयमा सही सूचना नदिने गरेको लगायत कारणले यात्रुले कठिनाइ भोग्नुपरेको, लामो समयसम्म विमानस्थलमा पर्खनुपर्ने कारण यात्रुले विमानस्थल परिसरमा महँगो र गुणस्तरहीन खानेकुरा खान बाध्य भएको पाइएको छ । आठ घण्टासम्म पनि हवाई उडान नभएपछि विमान सेवा कम्पनीले यात्रुलाई चिया खाजाको व्यवस्था नगरेको, साँझ भइसकेपछि उडान रद्द भएका खण्डमा यात्रुको सामान फिर्ता गर्ने गरिएको र यात्रुले आफ्नो व्यवस्थापन आफैँ गर्ने गरेको, विमान सेवा कम्पनीबाट केही बन्दोबस्त नहुने गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै उडान नहुने जानकारी समयमा नदिँदा यात्रु बेखर्ची भएर आफन्तकामा बस्नुपरेको र विमान कम्पनीले कुनै जिम्मेवारी लिने नगरिएको पाइएको छ । पहाडी भेगमा उडान भर्ने समिट एयरलाइन्सले यात्रुलाई बिहानै विमानस्थलमा बोलाउने, दिनभरि कुराउने तथा विनाजानकारी रद्द गर्ने जस्ता कार्य गरेको आयोगकी उपसचिव खतिवडाले जानकारी दिइन् । यस्तै विमान कम्पनीले आफूखुसी भाडादर बढाउने गरेको पाइएको छ । आयोगका कार्यवाहक अध्यक्ष डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले विमानस्थलमा यात्रुको मानवअधिकार रक्षा र उपभोक्ता अधिकारको प्रवद्र्धनका लागि सरोकारवाला पक्षसँग छलफल गर्दै सुझाव सङ्कलन भइरहेको बताइन् । आयोगका सदस्य मिहिर ठाकुरले हवाई क्षेत्रको समस्या समाधानका लागि पहल भइरहेको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका कामु महानिर्देशक हंसराज पाण्डेले यात्रुको सुरक्षित उडान, भाडादर तोक्नेलगायत उडान प्रक्रियालाई व्यवस्थापन गर्नका लागि ऐन र कानून भए पनि उडान ढिला हुँदा यात्रुको सुरक्षा र अन्य व्यवस्थापन कसले गर्ने भन्ने स्पष्ट कानून नभएको बताए । प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भूलले त्रिभुवन विमानस्थल प्रतिघण्टा एक हजार ३५० यात्रु आवागमन गर्नसक्ने क्षमताको बने पनि अहिले प्रतिघण्टा दुई हजार ५०० भन्दा बढी यात्रुले आवागमन गरेको र हवाईजहाजको सङ्ख्या पनि धेरै बढेकाले उडानका क्रममा हुने एयर ट्राफिक जामका कारण यात्रुलाई समस्या परेको जानकारी दिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरिरहेको बताए । नेपाल एयरलाइन्सका नायब महाप्रबन्धक कर्णबहादुर थापाले यात्रुलाई सहज गर्न आफूहरुले हवाई उडानमा सुधार गरिरहेको बताए । बुद्ध एयरका सञ्चार अधिकृत दीपेन्द्र कर्णले भौगोलिक बनावट र मौसमका कारण हवाई उडान ढिला हुने गरेको बताए । उनले सबै प्रदेशलाई जोड्नका लागि प्रदेश मुकामबाट प्रदेश मुकाम हवाई उडान गरिएको जानकारी दिए । यती एयरलाइन्सका स्टेशन म्यानेजर फुरी तामाङले विमानस्थलमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा उडान समयमा नहुँदा यात्रुलाई समस्या हुने गरेको बताए ।–रासस