ब्याडमिन्टन: दीपेश र रशिलालाई उपाधि

शनिबार, चैत १२, २०७८
Global Ime Bank

काठमाडौं, १२ चैत  । राष्ट्रिय च्याम्पियन एपिएफका दीपेश धामी र सेनाकी रशिला महर्जनले प्रथम राष्ट्र व्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि उचालेका छन् ।

पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन धामीले रिभाइभ लिजर पार्कका विश्व जुनियर नम्बर एक खेलाडी प्रिन्स दाहाललाई २१–१५, १२–२१, २१–१२ को अन्तरमा पराजित गर्दै उपाधि उचालेका हुन् । तृतीय स्थानमा पुलिसका जीवन आचार्य र विष्णु कटुवाल रहे । सेमिफाइनलमा जीवन दीपेशसँग र विष्णु प्रिन्ससँग पराजित भएका थिए ।

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिपको महिला एकल तर्फ राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले उपाधि हात पारिन् । विश्व जुनियर युगल तर्फ उच्च ७ मा रहेकी उनले सेनाकै अनुमाया राईलाई २१–९, २१–१९ ले पराजित गर्दै उपाधि हात पारेकी हुन् । तृतीय स्थानमा सेनाकी अमिता गिरी र पुलिसकी निता लम्साल रहे । गिरी सेनाकै रशिलासँग र निता अनुमायासँग पराजित भएकी थिइन् ।

नेपाल ब्याडमिन्टन संघको तत्त्वावधानमा भएको च्याम्पियनसिपको पुरुष युगल तर्फ सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले बाजी मारे । उक्त जोडीले कास्कीका भूगोल गुरुङ र विधान अधिकारीको जोडीलाई २१–१७, २१–१३ ले पराजित गर्दै उपाधि जितेका हुन् । तेस्रो स्थानमा एपिएफका दीपेश धामी र विजित थापा मगर एवं १६ फिदरका क्षितिज खनाल र सुजन थापाको जोडी रहे ।

लिवालिस्थित कभर्डहलमा यु १५ छात्रा एकल तर्फ बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईले काठमाडौँ ब्याडमिन्टन एकेडेमीकी एञ्जेल लिम्बुलाई २१–१४, २१–१४ को समान अन्तरले पराजित गर्दै स्वर्ण हात पारिन् । तेस्रो स्थानमा सेनाकी रोज पाण्डे र १६ फिदरकी रिहाना शेरचन रहे । सोही विधाको छात्र एकल तर्फ एनआरएनका शाहिल चन्द र सिल्क ग्रुपका कबिर के.सी. बीच भएको प्रतिस्पर्धामा कबिरलेले बाजी मारे । उनले २१–१५, २१–१६ का जित निकालेका हुन् । तेस्रो स्थानमा कपिलवस्तुका रोहित बराल र अभय महरा रहे ।

मास्टर्स युगल ४५ तर्फ कास्कीका नरबहादुर गुरुङ र शम्भु श्रेष्ठको जोडीले जित निकाले । उक्त जोडीले गठ्ठाघर स्पोर्टस् क्लबका पूर्णहरि  होना र सञ्जीव कपालीको जोडी लाई २१–१५, २१–१७ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । तेस्रो स्थानमा जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नवीन बाबु श्रेष्ठ तथा चन्द्रागिरिका राम के.सी. र हरि खत्रीको जोडी रहे ।

विजयी खेलाडीहरूलाई सङ्घीय सांसद प्रेम सुवाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपमेयर रजनी जोशी लगायतले पुरस्कार वितरण गरेका थिए ।

करिब ब १६ लाख ८६ हजार ५ सय रुपैयाँ लागत रहेको च्याम्पियनसिपमा यु–१५ पुरुष/महिला सिंगल्समा शीर्ष स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । पुरुष/महिला सिंगल्सका विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रोले १२ हजार ५ सयका दरले नगद पुरस्कार हात पारे । भेट्रान ४५ वर्षमाथि डबल्स र पुरुष डबल्समा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।चारदिने च्याम्पियनसिपमा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ) बाट २ सय खेलाडीको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार