आयोगको पारदर्शिता र निष्पक्षतालाई बलियो बनाउनुपर्छ – प्रदेश प्रमुख

शुक्रबार, चैत ११, २०७८

गण्डकी, ११ चैत  । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताएका  छन् । गण्डकी प्रदेश लोकसेवा आयोगको आज पोखरामा आयोजित  प्रथम वार्षिकोत्सव समारोह शुभारम्भ गर्दै उनले आयोगले   अवलम्बन गरेको योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा प्रतिस्पर्धात्मक परीक्षाबाट योग्य व्यक्तिको छनोट हुन्छ भन्ने विश्वास नागरिकमा रहेकाले यसमा अझै उचाइ बढाउन प्रादेशिक  आयोग सफल हुने अपेक्षा गरे  ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयतालाई चिनाउन यस आयोगको भूमिका महत्वपूर्ण हुने बताए  । उनले सुशासनका लागि सक्षम, सवल कर्मचारीतन्त्र  आयोगले उपलब्ध गराउने छ भने  ।

    प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले आयोग स्थापनाको एकवर्षे समयावधिमा भएका कामकारबाही प्रशंसनीय भएको बताए  ।प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले आयोगको एक वर्ष उपलब्धिपूर्ण रहेको बताउँदै आगामी दिनमा प्रदेशमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनका लागि आयोग सफल हुने विश्वास व्यक्त गरे ।

    लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले सङ्घीय निजामती ऐन बन्न नसक्दा समस्या भएको बताए  । आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए  ।आयोगका प्रादेशिक अध्यक्ष विष्णुप्रसाद नेपालले निष्पक्षता, पारदर्शितालगायत विषयमा आयोग प्रतिबद्ध भएको बताए  ।

    कार्यक्रममा आयोगका सदस्यद्वय योगेन्द्र गौचन र कल्पना लम्साल, प्रदेश लोकसेवा आयोग प्रदेश नं १ का अध्यक्ष उत्तमकुमार भट्टराईलगायतले आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए  । त्यस अवसरमा वर्ष उत्कृष्ट कर्मचारीका रुपमा शाखा अधिकृत सन्दीप ढुङ्गानालाई सम्मान गरिनाका साथै आयोगको स्मारिका लोकार्पण गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार