सभागृहको नाम बिपी सदन

शुक्रबार, चैत ११, २०७८

दमौली, ११ चैत  । व्यास नगरपालिका–३ स्थित बिपी वनबाटिकामा निर्माणाधीन सभागृहको नाम ‘बिपी सदन’ राख्ने निर्णय भएको छ । जिल्ला सभाको बैठकले उक्त निर्णय गरेको हो । 

    व्यास नगरपालिकाले सभागृहको नाम बिपी सदन राख्न कार्यपालिकाको बैठकको निर्णय गरी माग गरेको थियो । नगरपालिकाको मागबमोजिम यही चैत ९ गते बसेको जिल्लासभाको बैठकले सभागृहको नाम बिपी सदन राख्ने निर्णय गरेको जिल्ला समन्वय अधिकारी थमनसिं थापाले जानकारी दिए   ।

    जिल्लासभामा समन्वय समितिका प्रमुख, उपप्रमुख, चार नगरपालिकाका प्रमुख र उपप्रमुख तथा छ गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सदस्य रहन्छन् । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फत निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको छ । विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना कहरका कारण ढिलाइ भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । कोरोना कहरका कारण भवन निर्माणको म्याद चैत मसान्तसम्म थप भएको छ ।

    भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३३१ को लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण सुरु भएको थियो । 

    सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ । ७५० क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङस्थलसमेत रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५।५ चौडाइको हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार