सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर महानगरको सात तल्ले प्रशासनिक भवन निर्माण हुने भएको छ । पुल्चोकस्थित हाल भइरहेको भवनको दक्षिण पश्चिममापट्टि निर्माण गरिने उक्त भवनको बुधबार नगरप्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । बहुबर्षीय योजना अन्तर्गत निर्माण हुने उक्त भवन तीस महिनामा निर्माण सम्पन्न हुनेछ । महानगरप्रमुख महर्जनले महानगरको प्रशासनिक भवन निर्माणको सुरुवात यो कार्यकालको महत्वपूर्ण उपलब्धि भएको बताए । अपाङगतामैत्री, भूकम्पप्रतिरोधी उक्त भवन निर्माण गर्दा गुणस्तरीय सामग्री प्रयोग गर्न उनले निर्देशन दिए । संघीयता लागू भएपछि स्थानीय तहको क्षेत्राधिकार फराकिलो भएसँगै कर्मचारीको संख्या वृद्धि भएकाले हालको भवन एकदमै साँघुरो भएको बताए । उनले भने, ‘ यो भवन बनेपछि सरसफाईबाहेक सम्पूर्ण एउटै छानामुनिबाट दिन सकिन्छ, त्यसो हुँदा काम छिटो छरितो समेत हुन्छ । ’ प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ललितपुर महानगरको प्रशासनिक भवन निर्माणकोे प्रक्रिया निर्विवाद रहेको दाबी गरे । उनले छिमेकी नगरपालिका काठमाडौं महानगरको भवन निर्माणको प्रक्रिया बेदाग हुन नसकेको बताउँदै भने, ‘ त्यहाँका कर्मचारी साथीहरुलाई दाग लाग्यो, नियतिले मात्रै बचाएको हो, दाग अरुलाई पनि लाग्नुपथ्र्यो ।’ भवन निर्माणको सन्दर्भमा काठमाडौं महानगरबाट शिक्षा लिएर सावधानीपूर्वक काम गरेको उनको भनाई थियो । उनले प्राविधिक लगायत सम्पूर्ण कर्मचारीलाई भवन निर्माणको कामलाई दाग रहित बनाउन निर्देशन दिए । महानगरको प्रशासनिक भवन निर्माणको लागि ४९सालदेखि प्रयास गरिएको थियो । पटक पटक शिलान्यास भएपनि भवन निर्माण हुन सकेको थिएन । स्रोत व्यवस्थापन नगरी भवनको शिलान्यास गरेकाले भवन निर्माण हुन नसकेको सम्बद्ध कर्मचारीहरु बताउँछन् । शहरी विकास योजना महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले भवन निर्माणको लागि करीब ५३ करोड लागत अनुमान गरिएको बताए । उनका अनुसार नयाँ भवनको क्षेत्रफल ५० हजार वर्ग फिट रहेको छ । नवसिर्जनशील कन्स्ट्रक्सन कम्पनी प्रा.लिका संचालक रविकुमार गौतमले तोकिएको समय भन्दा अघि नै भवन निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।