विभाजनबाट जोगियो गैर आवासीय नेपाली संघ, १० औँ महाधिवेशन मार्च २४ र २५ गते हुने 

मंगलबार, चैत ८, २०७८

काठमाडौं, ८ चैत । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन चैत्र १० र ११ काठमाडौमा हुने भएको छ ।  गैर आवासीय नेपाली संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो । 
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुमार पन्तले गैर आवासीय एकर एकतावद्ध रहने दाबी गरे । उनले  एनआरएनएले  नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति प्रभावकारी भूमिका खेल्ने बताए । अध्यक्ष पन्तले अधिवेशनबाट तीनैजना अध्यक्षका उम्मेदवारहरुले मिलेर संस्थालाई अघि बढाउने सहमति भएको पनि जानकारी दिए ।
अध्यक्ष पन्तले भने, ‘गैर आवासीय नेपाली संघ एक रहन्छ, एकतावद्ध रहन्छ । अब गैर आवासीय नेपाली संघ एकतावद्ध रहन्छ म दावाका साथ भन्न सक्छु । यसले नेपालको सामाजिक तथा आर्थिक समृद्धिको निम्ति झनै प्रभावकारी र महत्वपूर्ण भुमिका खेल्दै जानेछ । मार्चको २६ र २७ गते महाधिवेशन र विशेष सम्मेलन गर्ने भनेको थियौँ, त्यसलाई केही परिमार्जन गरेर २४ र २५ मा गर्ने निर्णय गरेका छौँ ।’
त्यस्तै अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नु बाहेक अन्य कुनै विकल्प नभएकोमा जोड दिए । उनले हरेकले आफनो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि बढन आवश्यक रहेको भन्दै तीनैजना अध्यक्षका प्रत्यासीहरु मिलेर संस्थालाई अघि बढाउने बताए । 
अध्यक्षका प्रत्यासी केसीले भने, ‘अहिलेको अवस्थामा संस्थामा वृहत आम सहमति गर्नु बाहेक अन्य कुनै पनि उपाय छैन । हरेक व्यक्तिले आफनो व्यक्तिगत स्वार्थभन्दा संस्थाको स्वार्थलाई माथि राखेर अघि जानुपर्छ भन्नेमा हामी सहमत छौँ । यो डेढ वर्षको समय हामी सबैले एकैसाथ सामुहिक नेतृत्व गर्ने गरेर अघि बढने निर्णय गरेका छाँै ।’
त्यस्तै अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेको बताए । उनले सबै गैर आवासीय नेपालीहरुले राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेको पनि उल्लेख  गरे । अध्यक्षका प्रत्यासी आचार्यले भने, ‘हामी सबै पदको लागि भन्दा पनि संस्था बचाउने निर्णयमा पुगेका छौँ । हामी राष्ट्रिय सहमतिको अधिवेशन गर्नेमा जोड दिइरहेका छौँ । हामी पहिला भएका कमी कमजोरीहरुलाई नियालेर सबैलाई समेटदै अघि बढन चाहन्छौँ ।’
त्यस्तै अध्यक्ष पदर्की प्रत्यासी रविना थापाले  संस्थामा भएका विवादहरुलाई समाधान गरेर सहमतिमा संस्थालाई अघि बढाउने बताए । उनले अहिलेको एनआरएनएको अवस्थालाई सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो भएको पनि बताए । 
अध्यक्षकी प्रत्यासी थापाले भनिन्, ‘यो संस्थाको विभिन्न किसिमको समस्या, झैझगडा, विवादहरु थिए । यी विवादलाई अन्त्य गर्नको लागि र संस्थालाई बलियो बनाउनको लागि इमान्दारितापूर्वक काम गरिरहेका छौँ । अहिलेको एनआरएनएको अवस्था सहमति, सहकार्यबेगर यसलाई अघि लैजान गाह्रो छ ।’
एनआरएनएले गैर आवासीय नेपाली संघलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण राख्दै थप प्रभावकारी बनाउन पनि राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गरेको छ । यो महाधिवेशनपछि सहमति प्रणालीबाट नेतृत्व गर्ने निर्णय भएको पनि अध्यक्षकी प्रत्यासी थापाले बताइन् ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार