राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गरिने

आइतबार, चैत ६, २०७८

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र नेपालीको हितका खातिर जुनसुकै मुलुकले प्रदान गर्ने सहयोग स्वीकार गरिने बताए । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उनले  राष्ट्र र जनताको हित विपरीतका सहयोग आफ्नो पार्टीले सधैँ अस्वीकार गर्ने स्पष्ट पारे । “राष्ट्र र जनतालाई केन्द्रमा राखेर वैदेशिक सहायता स्वीकार गर्नुपर्छ,” उनले भने । मुलुक र जनतालाई नै केन्द्रमा राखेर आफू राजनीतिमा होमिएको उल्लेख गर्दै उनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे फैलाइएको नकारात्मक भ्रम चिर्न पार्टीका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । 

    ‘घर–घर जाउँ, कांग्रेस जिताऊँ’ अभियानलाई व्यापक बनाउनुपर्ने तथा पार्टीलाई सबै स्थानमा विजयी गराउन नेतृत्व पङ्क्तिका साथै तल्लो तहका कार्यकर्ता पनि उत्साहका साथ लाग्नुपर्ने नेता सिंहले बताए । आसन्न निर्वाचनमा उम्मेदवारको अभिलाषा लिएकालाई वैधानिक बाटोबाट अघि बढ्न उनले सुझाव दिए । 

रासस

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार