म्यादी भर्ना आजदेखि, आवेदन दिन देशै भर युवाको भीड  

आइतबार, चैत ६, २०७८

काठमाडौं, ६ चैत  । स्थानीय तह निर्वाचनमा परिचालित हुने म्यादी प्रहरीको भर्ना आजदेखि सुरु गर्ने भएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सबै जिल्ला प्रहरी कार्यालयमा भर्ना खुला हुने  नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । भर्ना अवधि ११ चैतलाई अन्तिम समय सीमा तोकिएको छ। आवेदन दर्ता गराएकालाई १३ चैतमा सम्पर्कका लागि बोलाइएको छ । १५ चैतदेखि भर्ना छनोट हुने र २२ चैतमा अन्तिम नतिजा प्रकाशन गर्ने प्रहरी प्रधानकार्यालयको भर्ना छनोट महाशाखाले जनाएको छ । महाशाखाले ती भर्ना भएका म्यादी प्रहरीलाई २८ चैतदेखि प्रशिक्षण शुरु गर्ने बताइएको छ । 
म्यादी प्रहरीमा भर्ना हुन चाहने व्यक्ति दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । त्यस्तै, म्यादी प्रहरी हुन नेपाल नागरिक हुनुपर्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोमा कसुरदार नठहरिएको हुनपर्नेछ । राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको, साधारण लेखपढ गर्न जान्ने न्यूनतम योग्यता तोकिएको छ।

यसअघिका म्यादीलाई प्राथमिकता
त्यस्तै, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा १ साउन २०७८ देखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपी पेस गर्ने व्यक्ति प्राथमिकतामा छन् ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तीभरण वा उपदानप्राप्त पूर्वसुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिक पनि योग्य हुनेछन् । विगतका निर्वाचनहरूमा म्यादी प्रहरीको रूपमा भर्ना भई सन्तोषजनक कार्य गरेका व्यक्तिहरूलाई म्यादी प्रहरी भर्नाका लागि प्राथमिकतामा राखिएको छ ।

कस्तो सुविधा पाउँछन् 
म्यादी प्रहरीका लागि नेपाल प्रहरीको जवान सरह ९आधारभूत तलब मासिक २२ हजार ६८०० बढीमा ४० दिनसम्मका लागि व्यक्तिगत बैंक खातामा रकम जम्मा गरिदिने गरी जम्मा तलब ३० हजार २४०, खाद्यान्नबापत प्रतिव्यक्ति एकमुष्ठ ७ हजार २०० र पोसाक तथा अन्य सामान खरिद गर्ने गरी प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले उपलब्ध गराइने गरी सेवा, सुविधा तोकिएको छ ।
निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एक पटकका लागि १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध गराइने र बीमालगायतका अन्य सुविधा सरकारले तोकेबमोजिम हुने उल्लेख गरिएको छ ।

छनोट
म्यादी प्रहरी हुन सुरुमा प्रारम्भिक स्वास्थ्य परीक्षण (वेयरिङ चेक) परीक्षा हुनेछ, जसमा अंगभंग–कुरूप नदेखिने, आँखा राम्रोसँग देख्ने, बाहिर देखिने घाउ चोट पटक, रोग नभएको, उचाइअनुसार हुनुपर्ने तौलभन्दा अत्यधिक बढी वा कम तौल नभएको, पुरुषको उचाइ घटीमा ५ फिट, तौल ५० किलो र छाती ३१ देखि ३३ इन्च तथा महिलाको उचाइ घटीमा ४ फिट १० इन्च, तौल कम्तीमा ४२ किलोलगायत वियरिङ चेकमा हेरिनेछ ।
शारीरिक तन्दुरुस्ती परीक्षामा १ किलोमिटर दौड, सिट अप र पुस अप उमेरअनुसार तोकिएको छ । त्यसपछि लिखित परीक्षा, स्वास्थ्य परीक्षण हुनेछ, जसमा सामान्य स्वास्थ्य जाँच गर्ने व्यवस्था गर्न मुटुको धड्कन, ब्लड पे्रसर तथा अन्य सामान्य शारीरिक परीक्षण हुनेछ ।
त्यसपछि अन्तर्वार्ता हुने उल्लेख छ । एकपछि अर्को परीक्षामा सामेल हुन त्यसैअनुसार परीक्षासमेत उत्तीर्ण गर्नुपर्नेछ । त्यसपछि २० प्रतिशत वैकल्पिक सूचीमा राखी अन्तिम नतिजा प्रकाशन गर्ने योजना छ । अन्तिम नतिजा प्रकाशन गर्ने क्रममा महिला आवेदकलाई प्राथमिकतामा राखी प्रत्येक मतदान केन्द्रमा महिला म्यादी प्रहरीसमेत रहन पुग्ने गरी छनोट व्यवस्था मिलाउन भनिएको छ ।

७० हजारभन्दा बढी नेपाल प्रहरी
निर्वाचनको सुरक्षा व्यवस्थालाई केन्द्रित गरी प्रहरी प्रधानकार्यालयले देशभर ७० हजारभन्दा बढी नेपाल प्रहरी खटाउने भएको छ। प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले देश स्थानीय निर्वाचनमा गइसकेकाले प्रहरी प्रधानकार्यालयले पनि त्यहीअनुसार कार्ययोजना बनाएर अगाडि बढेको बताए । १ लाख म्यादी प्रहरीसँगै नेपाल प्रहरीका ७० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचनमा खटिनेछन् ।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार