हिंसात्मक आन्दोलनको कालो छाया

शुक्रबार, चैत ४, २०७८

नेपालमा पुनः माओवादी निस्कने र सशस्त्र युद्ध हुने भविष्यवाणी फागुनको शुरुमा यसै पंक्तिमा गरिएको थियो। २०७८ फागुणको ६ गते गरिएको भविष्यवाणी फागुणको १४ गते पुरा भएको छ । नेपालको राजनैतिक परिस्थिति हेर्दा कुनै नयाँ समूहले सशस्त्र युद्ध शुरु गर्न सक्छ भन्ने त्यस लेखको मनसाय थियो। क्रान्ति हुने बित्तिकै सबै थोक पूरा नहुने रहेछ र अर्को समूहले हथियार उठाउन सक्छ भन्ने त्यसको तात्पर्य थियो । नभन्दै त्यस्तो हुन गयो । नेपालमा एक समूहले फेरी सशस्त्र युद्ध गर्ने घोषणा गरेको छ। यसको नाउँ हो हिमाल सुरक्षा परिषद्। यसले हथियार सहित उक्त पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। यसैमा उक्त युद्ध शुरु गर्ने कुरा गरेको छ ।

आजसम्म यसले कुनै गतिविधि गरेको जानकारीमा आएको छैन । तर हथियार सहितको विज्ञप्ति निकालेको हुनाले यसमा पुरै अविश्वास गर्नु पर्ने ठाउँ पनि छैन । यसले के गर्छ र गर्दैन भन्ने आफ्नो ठाउँमा छ । तर यस्तो शक्तिको पुनर्उत्थान हुने सम्भावना भएको तथ्य यसको भविष्यवाणीमा उल्लेख गरिएको थियो । यसमा भनिएको थियो, ‘आजको समय पनि उही २०५२ सालको जस्तै सृजना भइरहेको छ । भन्नलाई लोकतन्त्र आएको छ। गणतन्त्र आएको छ। संघियता लागु भएको छ । समावेसिता चरितार्थ भएको छ। मानिसहरू स्वतन्त्र भएका छन्। जे मनलाग्यो बोल्न पाएका छन्। तर भ्रष्टाचार बढेको छ । अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई एक भ्रष्टाचारी मुलुक भनेर ठानेका छन् । नेपालको लोकतान्त्रिक व्यवस्था अनुसार राजनीतिज्ञहरू भ्रष्टाचारबाट मुक्त छन्। उनीहरू कै कारण ढुकुटीको हिनामिना भइरहेको छ ।’

२०४७ सालको संविधान पुनर्स्थापना हुनु पर्ने परिषद्‍को प्रमुख माग रहेको छ । यसको साथै यसले नेपालमा संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, पाँच विकास क्षेत्र जस्ता माग अघि सारेको छ । सो परिषद्‍ले ती व्यवस्था अन्तर्गत रहेका प्रावधानहरू पनि पुनर्स्थापित हुनु पर्ने भनेको छ । संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि आफुहरूले सशस्त्र युद्धको घोषणा गर्नु परेको सो परिषद्‍ले जनाएको छ । उही मागहरू राखेर धेरै समूहहरू निस्किसकेका छन् ।  तर उनीहरूले हथियार उठाउने कुरा गरेका छैनन् । शान्तिपूर्वक विरोध प्रदर्शन गर्न अहिलेको संविधानले दिएको छ। तर उतिले नपुगेर जसरी पहिले २०५२ सालमा माओवादी समूह उठेको थियो त्यही तरिकाले अहिले पनि उठेको मात्र सकिन्छ ।

‘आजको समय पनि उही २०५२ सालको जस्तै सृजना भइरहेको छ। भन्नलाई लोकतन्त्र आएको छ। गणतन्त्र आएको छ। संघियता लागु भएको छ। समावेसिता चरितार्थ भएको छ। मानिसहरू स्वतन्त्र भएका छन्। जे मनलाग्यो बोल्न पाएका छन्। तर भ्रष्टाचार बढेको छ। अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई एक भ्रष्टाचारी मुलुक भनेर ठानेका छन्। नेपालको लोकतान्त्रिक व्यवस्था अनुसार राजनीतिज्ञहरू भ्रष्टाचारबाट मुक्त छन्। उनीहरू कै कारण ढुकुटीको हिनामिना भइरहेको छ।’

परिषद्‍ले यो देशको परिस्थिति भ्रष्टाचार, देशद्रोही र खर्चिलो संघियतालाई ध्यान दिएर सशस्त्र युद्धको घोषणा गरेको भनिएको छ । पहिलो माओवादी जस्तै ४० बुँदाको मागको ठाउँमा हिमाल सुरक्षा परिषद्‍ले २० बुँदे माग अगाडि सारेकोछ । यसमा एमसीसी खारेज गरिनु पर्ने, नागरिकता छानबिन गर्नु पर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनु पर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु पर्ने आदि कुराहरू भनिएका छन् । यी यसता कुराहरू हुन् जसलाई सबैले चाहेका छन् ।

नेपालमा माओवादीको उत्थान जुन वातावरण भएको थियो सो वातावरण आहिले पनि विद्यमान छ ।  यसै कुरालाई दर्शाएर सो लेखमा हथियार उठन सक्ने भविष्यवाणी गरिएको थियो । त्यसमा भनिएको थियो, ‘प्रजातन्त्र भएको मुलुकमा हथियार लिएर निस्कनु जरुरी थिएन । तर माओवादीहरूले प्रशस्त जनसमर्थन पाएका थिए । कारण प्रजातन्त्रको नाउँमा भइरहेको भ्रष्टाचार। वायुसेवा निगममा लउडा काण्ड चलेको थियो । सांसदहरूले सुत्केरीले खाने औषधिको बिल बनाएर सरकारी ढुकुटीबाट जथाभावी पैसा लिइरहेका थिए । यसलाई रोक्न कसैले पनि सक्दैन थिए। प्रजातान्त्रिक पद्धति भएको बेला त्यस्ता संलग्न दलहरू, सांसदहरू, मन्त्रीहरूको मनोमानी चल्दै थियो । राजा थिए तर अधिकार सबै मन्त्रिमण्डलमा निहित थियो।  यो त्यो बखल थियो जुन बेला मानिसहरू अब यहाँ कसैले केही गर्न सक्दैन भनेर सोच्दै थिए । जसरी सरकार चलेको छ त्यसलाई कसैले फेर्न सक्दैन।‘ त्यही हालत आज नेपालमा विद्यमान छ । त्यसकारण यस्तो माहौलमा हिंसा निस्कनु हाम्रा माओवादीले भन्दा अरुले बुझ्न सक्दैनन् ।

गएको लेखाईमा यो पनि भनिएको थियो, ‘आज यस्तै कुनै माओवादी जन्म दिने समय आएको छ। हुन त भारतमा पनि नेतृत्वको परिवर्तन भएको छ र पुराना माओवादीसित सन्तोष छैनन् । त्यसैले कुनै नयाँ माओवादीलाई जन्म दिने सम्भावना कमै छ। चीनले पनि चाहेको भए माओवादी जस्तै कुनै शक्ति उत्पादन गर्न सक्थ्यो। तर उसलाई यसमा रुचि नभएको देखिन्छ। यदि एमसीसी पास भएन भने अमेरिकाले नेपालमा यस्तो शक्ति निकाल्न सक्छ। तर ननिकाल्दा सम्म उसलाई दोष दिन पनि सकित्र। तर समय यस्कोलागि उपयुक्त हुँदै गएको छ। सबै कुरा खुला हुँदा पनि नेपालमा माओवादीको पुनर्जन्म हुने समय आउने गर्दो रहे छ।‘ हुन त हिमाल परिषद्‍ले कुनै विदेशीको मदद पाएको अहिले सम्म थाहा छैन। तर उनीहरू अगाडि बढदै गए भने कुनै देशले त्यसमा रुचि राख्न सक्छ।

यसमा यो पनि लेखिएको थियो कि विडम्बना यो छ कि पुष्प कमल दाहाल जस्ले माओवादी लहर नेपालमा शुरु गरे उनकै विरोधमा अर्को माओवादी लहर आउने उपयुक्त वातावरण बनेको छ। पहिलो माओवादी लहरबाट चिताएका सबै परिवर्तनहरू देखा परे । गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता आदि सबै आए । तर जनताको आधारभूत चाहना र खाँचो पुरा भएन। उनीहरूको जीवन यथावत नै रह्यो। नयाँ व्यवस्थाको मूल मानिसको नाताले यसमा के पुगेन र अर्को माओवादी लहर आउन लाग्यो भनेर सोंच्नु पर्ने थियो। तर त्यो गरेको पाइएन।

सुर्खेतमा माओवादी नेता प्रचण्डमाथि ढुङ्गा मुढा हानियो भन्ने एउटा समाचार पढन पाइयो । तर त्यो साँचो होइन भनेर नेपाल प्रहरीले विज्ञप्ति निकाल्यो । असलमा फेसबुकमा प्रचण्डलाई दुई जना प्रहरीले सम्हाल्दै लगेको र अर्को ढुङ्गा हान्नेलाई प्रहरीले लतारेको चित्रहरू पनि देख्न पाइयो । अर्को चित्रमा प्रचण्डलाई प्रहरीहरूले उनीहरू कै सुरक्षा कवचले ओढाएर लगेको पनि देखियो। यसबाट घटना भएको हो कि होइन भनेर छुट्याउन गाह्रो पर्दैन। तर सत्य कुरा के हो भनेर कसैले खोजी गरेको पनि छैन ।

सो लेखमा यो पनि लेखिएको थियो कि आखिरमा जुन मानिस प्रधानमन्त्री हुँदा माओवादी युद्ध शुरु भएको थियो उही मानिसलाई जबर्जस्ती प्रधानमन्त्री बनाएर बस्नु परेको छ। यो मिलन पनि खास बलियो देखिएको छैन। एमसीसी जस्तो सम्झौताले उनीहरूमा भएको एकता टुट्ने फुट्ने देखिएको छ। एमसीसीको कारणले उनीहरू बीचमा फाटो आउने मात्र होइन यसले नेपालको भविष्य पनि अनिश्चित र डामाडोल बनाइदिएको छ। यदि अमेरिकालाई नेपालीहरूबाट एमसीसी पास गराउनै छ भने नेपालले अमेरिकाबाट धेरै चीजहरू हासिल गर्न सक्थ्यो। खालि ५५ अरब डलरको लोभमा नेपालको भविष्यलाई नै खतरामा राख्नु पर्ने थिएन ।

त्यसमा लेखिएको थियो कि विश्वको कुनै देशले नेपालमा माओवादी पुनः जन्माउने रुचि नराख्ने भएकोले नेपाली जनताले नै यो संकटको परिस्थितिलाई सल्टयाउने प्रयत्न गर्नु पर्ने छ। यो कुनै दल या पार्टी खोलेर यसको समाधान निस्कन्न । मानिसहरूलाई एकै ठाउँमा जुटाउन गाह्रो छ । सो कुरा नेपालमा राजसंस्था पुनःस्थापित हुनु पर्छ भन्ने अनेक समूहले देखाइ सकेका छन्। यसकारण जो मानिसहरू अन्याय अत्याचारमा पर्छन् उनीहरूले हिंसाको बाटो हिंड्ने छन् र हिंड्न थालिसकेका पनि छन् ।-स्वतन्त्र समाचार 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार