झिनो लक्ष्य पनि पछ्याउन नसक्दा युएईसँग नेपाल ४८ रनले पराजित

शुक्रबार, चैत ४, २०७८

काठमाडौं, ४ चैत । आवश्यक परेका बेला नेपाली खेलाडी कमाल गर्न सक्दैनन् । आज पनि यस्तै भयो । युएईमा जारी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपालले खराब ब्याटिङ गरेको छ । युएईले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ गरेपछि ४८ रनले पराजित भयो । नेपालका लागि रोहितकुमार पौडेलले ४६ र ज्ञोन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन् । चौथो ओभरमा दुवै ओपनरलाई गुमाएपछि नेपाल दबाबमा परेको थियो । त्यसपछि भर पर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी पनि ४ रनमै पभेलियन फर्किएपछि नेपाल थप दबाबमा आएको थियो । चौथो विकेटका लागि ज्ञोनद्र मल्ल र रोहितले ५५ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए । क्रिजमा टिकेका ज्ञानेन्द्र र रोहित लागातार ओभरमा आउट भएपछि घरेलु मैदानमै युएईलाई हराउने नेपालको सम्भावना कमजोर बनेको थियो । त्यसपछि लागातार विकेट गुमाएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो ।  नेपालका आरिफ सेख र कमलसिंह ऐरी शुन्य रनमा आउट हुँदा करण केसी र सोमपाल कामीले समान ६ रन बनाए। यस्तै कप्तान सन्दीप र आसिफ सेखले ७ रन बनाए भने सागर ढकाल शून्य रनमा नटआउट रहे । 

विशालको घातक बलिङ
सामान्य लक्ष्यमा पनि युएईलाई जित दिलाउन स्पिनर बिशाल हमिदले घातक बलिङ गरे । उनले ५ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ४ विकेट लिए ।  यस्तै जुनैद सिद्दिकीले ७.१ ओभरमा १ मेडनसहित १८ रन मात्र खर्चेर ३ विकेट लिँदा जाहुर खान र रोहन मुस्तफाले पनि १ विकेट लिए ।

सोमपाल र करण चम्किँदा नेपाललाई सामान्य लक्ष्य
सोमापाल कामी र करण केसीले घातक बलिङ गरेपछि युएईले नेपालाई १६९ रनको सामान्य लक्ष्य दियो। नेपाली फास्ट बरले धारिलो बलिङ गरेपछि सारजाहमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ४६.३ ओभरमा १६८ रन मै अलआउट भयो ।  उसका रोहन मुस्तफा र चुन्डाङगापोइल रिचवानले समान ४० रन बनाउँदा मुहम्मद वासिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल र करणले घातक बलिङ गरे । सोमपालले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए भने करणले ७.३ ओभरमा १६ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले पनि समान १ विकेट लिए ।

ओडिआईमा सागर ढकालको पहिलो विकेट
नेपाली स्पिनर सागर ढकालले एकदिवसीय क्रिकेटमा विकेटको खाता खोलेका छन् । युएईमा जारी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पिएनजीविरद्धको खेलमार्फत एकदिवसीय क्रिकेटमा डेब्यू गरेका उनले युएईविरुद्ध विकेट लिएका हुन् ।  सारजाहमा जारी खेलमा सागरले विशाल हमीदलाई क्लिन बोल्ड गर्दै एकदिवसीय क्रिकेटमा विकेटको खाता खोले। ४ ओभर बलिङ गरेका उनले १३ रन खर्चिएर १ विकेट लिए। एकदिवसीयको डेब्यू खेलमा भने सागर विकेटबिहीन भएका थिए । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि सागरले गत महिना भएको ओमान भ्रमणमार्फत टि–२० आईमा पनि डेब्यु गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार