सीमित अवधिमा धेरै काम गर्नु छ : मन्त्री झाँक्री

शुक्रबार, चैत ४, २०७८

काठमाडौँ ४ चैत ।  शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताएकी छन् ।  मन्त्रालयमा आज एसियाली विकास बैंक (एडिबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडिबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गरिन् । उनले भनिन्, “हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ ।”
मन्त्री झाँक्रीले राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले सङ्घीयता अनुसारका शहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताउनुभयो । उहाँले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनमा काम गरिरहेको बताइन् । “विकास निर्माणका धेरै आयोजनामा काम भइरहेका छन्, हामीसँग सीमित बजेट हुँदा धेरै काम गर्न सकिरहेका छैनौँ,” उनले भने ।  छलफलमा एडिबीको दक्षिण एसिया विभागका महानिर्देशक केनिचि योकोयामाले मन्त्रालयसँग आफू सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताए । उनले शहरीकरणको गुजरात मोडलअनुसार अब बन्ने शहरीकरणका परियोजना बनाउन सुझाव र्दिए । हाल एडिबीको लगानीमा नेपालमा भइरहेका कामको समिक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिए ।   छलफलमा सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, मन्त्रालयका सह–सचिव प्रकिर्ण तुलाधर, मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहोरा लगायतको सहभागीता रहेको थियो ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार