सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, ४ चैत । विद्युतीय पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले लगातार सफलता हासिल गरिरहेको छ । गुणस्तरीय तथा भरपर्दो विद्युत् सर्वसुलभ रुपमा सबैलाई उपलब्ध गराउने योजनालेसमेत अब क्रमशः मूर्तरुप पाउन थालेको छ । देशभित्रै बिजुलीका खपत बढाउने लक्ष्यका साथ सरकारले अनेकन प्रयास गरिरहेको छ । त्यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार आवश्यक पर्दछ । देशभर नै भरपर्दो प्रणालीको विकासका लागि प्राधिकरणले ठूलाठूला प्रसारण लाइन तथा सवस्टेशन निर्माण गरिरहेको छ ।
यसैक्रममा पछिल्ला तीन दिनमा मात्रै तीन वटा नयाँ सवस्टेशनको उद्घाटन गरिएको छ । सोही क्रममा कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ मा निर्माण सम्पन्न भएको १३२/३३/११ केभी क्षमताको मोतीपुर सवस्टेशनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार उद्घाटन गरेकि प्राधिकरणले जनाएको छ । पूर्वपश्चिम १३२ केभी प्रसारण लाइनलाई आठ वटा टावर निर्माण गरी मोतीपुर सवस्टेशनमा लगिएको छ । सवस्टेशनमा रहेका ३० र १६ एमभिएका पावर ट्रान्सफर्मर छन् । सवस्टेशनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि चार वटा फिडर निकालिएको छ । यसमध्ये तीन फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ ।
उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत् प्रयोग गर्न आग्रह गरेकी प्राधिकरणले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सवस्टेशनले मोतीपुर क्षेत्रको विद्युत् आपूर्तिमा सन्तुलन ल्याउने र स्थानीयवासीले भरपर्दो बिजुली प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय र पर्याप्त विद्युत् आपूर्तिका लागि पूर्वाधार बनेको उल्लेख गर्दै मोतीपुर क्षेत्रमा उद्योग स्थापनाका लागि औद्योगिक वातावरण बनाउन आग्रह गरे । उनले सवस्टेशनबाट विद्युत् आपूर्ति सुरु भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको तथा प्राविधिक चुहावटसमेत कम भएको बताए ।