विश्वकप लिग दुईमा नेपालको विजयी सुरुवात, पपुवा न्युगिनी दुई विकेटले पराजित 

बिहीबार, चैत ३, २०७८
Global Ime Bank

काठमाडौँ, ३ चैत ।  आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ ।
युनाइटेड अरब इमिरेट्स (युएइ) को सारजाह क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । पौडेलले ५८ तथा शेखले ५३ रनको योगदान दिए । 
त्यसैगरी करण केसीले २९, आशिफ शेखले १६, विनोद भण्डारीले ११, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान ८÷८, ज्ञानेन्द्र मल्लले ४ तथा कुशल भुर्तेलले एक रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले समान २÷२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको थियो । उसका लागि चाल्र्स अमिनीले ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै टोनी उराले २७, लेगा सियकाले २५, चाद सोपरले ३५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाए । 
बलिङतर्फ नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए । नेपालले दोस्रो खेल शुक्रबार युएइसँग खेल्नेछ । लिग दुईमा नेपालसहित सात देश सहभागी छन् । नेपाल नौ खेलमा पाँचमा जित तथा चारमा हारका साथ १० अङ्कसहित छैटौँ स्थानमा छ । पपुवा न्युगिनी हालसम्म जितविहीन अवस्थामा छ । उसले हालसम्म खेलेका १४ वटै खेलमा पराजय व्यहोरेको छ ।

मेयर कप क्रिकेटको उपाधि खलङ्गालाई  
बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दनपा–४ खलङ्गाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा दनपा–५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलङ्गाले उपाधि हात पारेको हो ।  
खलङ्गा गत संस्करणको विजेता हो । उसले गत वर्ष पनि दशरथचन्दलाई नै ४ रनले हराउँदै उपाधि जितेको थियो । उपाधिसँगै खलङ्गाले रु ७५ हजार पुरस्कार प्राप्त ग¥यो । उपविजेता दशरथचन्दले रु ५० हजार प्राप्त ग¥यो ।  
फाइनलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलङ्गाले १०.४ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि हरिश कार्कीले अविजित ५२ रनको पारी खेले । बलिङतर्फ दशरथचन्दका सुमन रावलले ३ विकेट लिए । 
त्यसअघि निङ्ग्लाशैनी खेल मैदान देहीमाडौैँमा पहिला ब्याटिङ गरेको दशरथचन्दले १६.१ ओभरमा सवै विकेट गुमाएर ८७ रन बनायो । उसका लागि आकाश रावलले १७, सुमन रावलले १४ र जगदिश चन्दले १३ रन बनाए । बलिङतर्फ खलङ्गाका गोविन्द नाथ, प्रदीप चन्द र हरिश कार्कीले ३÷३ विकेट लिए । खेलको म्यान अफ दी म्याच खलङ्गाका हरिश कार्की घोषित भएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।    
प्रतियोगिताको उत्कृष्ट खेलाडी खलङ्गाका प्रदीप चन्द भए । उनले प्रतियोगिताभर व्यक्तिगत १९३ रन बनाउनुकासाथै सात विकेटसमेत लिएका थिए । यस्तै प्रतियोगिताभर १० विकेट लिएका ग्वाल्लेकका दीपक जोशी उत्कृष्ट बलर घोषित भए ।  
विजेता तथा उपविजेता टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरे ।   
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा गत फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए । नगरपालिकाले वार्षिक कार्यक्रममा राखेर हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।–रासस
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार