महिलाका लागि प्रविधिमैत्री साक्षरता कक्षा सञ्चालन

बुधबार, चैत २, २०७८

नवलपुर, २ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गरिएको छ । गैँडाकोट–२ र ७ मा आजदेखि प्रविधिमैत्री साक्षरता कक्षा सञ्चालन गरिएको हो । महिलालाई साक्षर गराउने उद्देश्यले सञ्चालन गरिएको प्रविधिमैत्री कक्षा तीन महिनासम्म सञ्चालन हुने बताइएको छ । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा गैँडाकोटस्थित मौलाकाली सामुदायिक सिकाइ केन्द्रले प्रविधिमैत्री कक्षा सञ्चालन गरेको हो । कार्यक्रममा गैँडाकोट–७ का वडाध्यक्ष चोलनाथ उपाध्यायले कार्यक्रमले महिलालाई साक्षर बन्न र समाजमा अगाडि बढ्न सहयोग गर्ने बताए । वडामा थप प्रविधिमैत्री कक्षा सञ्चालनका लागि वडा कार्यालयले पनि सहयोग गर्न तयार रहेको उनको भनाइ छ । 

    मौलाकाली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कमल पराजुलीले महिलालाई सामाजिक, राजनीतिक र प्रविधिसहित सबै क्षेत्रमा अगाडि बढाउने उद्दश्यले कक्षा सञ्चालन गरिएको बताए । उनले प्रविधिमैत्री साक्षरता कक्षामा सहभागी महिलाहरुलाई मन लगाएर सिक्न र सिकेका कुरालाई व्यवहारमा लागू गर्न पनि आग्रह गरे । गैँडाकोट नगरपालिका शिक्षा शाखाका प्रमुख शिक्षा अधिकृत हेमचन्द्र पौडेलले प्रविधिमैत्री शिक्षाले दैनिक जीवनमा सहज हुने बताए । नारायणी सामुदायिक वनका अध्यक्ष दीननाथ त्रिपाठीले शिक्षा जीवनको दियो भएकाले शिक्षाको महत्व बुझ्नुपर्ने बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार