दुर्घटना न्यूनीकरण गर्न ट्र्याक्टरमा स्टिकर

बुधबार, चैत २, २०७८

कावासोती, २ चैत । नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान सुरु गरिएको छ । कावासोतीको रिफ्रेस सेन्टरमा आज एक कार्यक्रमबीच  स्टिकर टाँस्ने अभियान थालनी गरिएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले ट्र्याक्टरमा स्टिकर  टाँसेर अभियानको सुरुआत गरेका हुन् । अभियानको सुरुआत गर्दै उनले दुर्घटनाबाट मानवीय र भौतिक क्षति हुँदा चालक, सहचालक,  सर्वसाधारण नागरिकमा धेरै असर पर्ने भएकाले त्यस्ता असरलाई कम गर्नसमेत यस अभियानले टेवा पुग्ने बताए ।

दुर्घटना न्यूनीकरण गर्ने दायित्व प्रहरीको मात्रै नभइ व्यवसायी र सबै नागरिक रहेको उनले बताए । रातिको समयमा ट्र्याक्टर नदेखिँदा पछिल्लो समय भित्री सडक खण्डमा दुर्घटनामा वृद्धि भएको उनले बताए । “भित्री सडकमा बत्ती पनि हुँदैन, रातिमा ट्र्याक्टर देखिँदैन्, जसले गर्दा मोटरसाइकल लगायतका अन्य सवारी ट्र्याक्टरको ट्रलीमा ठोकिएर दुर्घटना हुने गरेको पाइएको छ” । उनले स्टिकर टाँसेपछि रातिमा पछाडीबाट आउने अन्य सवारी साधनले ट्र्याक्टर देख्ने र दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने बताए । 

उनले चालु वर्षमा मात्रै आठ ट्र्याक्टर दुर्घटनामा परेर दुई जनाको मृत्युसमेत भएको जानकारी दिए । उनले आवश्यक कागजात भएकाले मात्रै ट्र्याक्टर चलाउनसमेत अनुरोध गरे । रातिको समयमा ट्र्याक्टरको ट्रली नदेखिँदा धेरै दुर्घटना हुने गरेकाले न्यूनीकरण गर्न अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नारायण थापाले जानकारी दिए । दुर्घटना न्यूनीकरणमा प्रहरीले मात्रै गरेर नहुने भएकाले व्यवसायीसँगसमेत समन्वय गरेर अभियान सञ्चालन गरिएको उनले बताए । रासस
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार