सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, ३० फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमले जलवायु परिवर्तनको जोखिम बढाउँदै लगेको बताइन । आज आयोजित ‘जलविद्युत् परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको उल्लेख गरिन ।
उनले भनिन, “जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रा नदीनाला तथा वरपरका बस्तीमा बढी देखिन्छ । बाढी, पहिरोजस्ता प्रकोपका कारण ठूलो जनधनको क्षति हुन पुगेको छ । जलविद्युत् आयोजनामा समेत निकै असर परेको छ ।” मन्त्री भुसालले जलवायु परिवर्तनको असर निरन्तर बढ्ने क्रममा रहेकाले त्यसका लागि जिम्मेवार मुलुकले प्रभावित राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिइन । उनले भनिन्, “जलवायु परिवर्तनका असर बढाउने मुलुकहरूले प्रभावित राष्ट्रलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।” जलविद्युत् आयोजना गुणस्तरीय र भरपर्दो तवरले निर्माण गर्न तथा विभिन्न प्रकोपका कारण आइपर्ने जोखिमबाट सुरक्षित राख्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भुसालले आयोजनाको दीगो विकासका लागि सुरक्षित कदम चाल्नुपर्ने बताइन् । (रासस)