एक सातदेखि कञ्चनजङ्घा संरक्षण क्षेत्रमा डढेलो

आइतबार, फागुन २९, २०७८

फुङ्लिङ, २८ फागुन ।  ताप्लेजुङमा अवस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रमा एक सातादेखि डढेलो लागेको छ । सुख्खा मौसम हुन थालेसँगै संरक्षण क्षेत्रमा डढेलो लाग्न थालेको हो । फक्ताङलुङ गाउँपालिका–६ अम्जिलेसा क्षेत्रमा गत बिहीबार डढेलोबाट एक घर जलेर नष्ट भएको छ, भने सो डढेलो अहिलेसम्ममा नियन्त्रणमा आएको छैन ।  सुख्खा मौसम भएसँगै कञ्चनजङ्घा संरक्षण क्षेत्रमा आगलागी घटना बढ्न थालेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । डढेलो नियन्त्रणका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कर्मचारी, सामुदायिक वन उपभोक्ता समूह, आमा समूह र लुङ्थुङ प्रहरी चौंकीका प्रहरीद्वारा डढेलो नियन्त्रणको प्रयास भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए । डढेलो नियन्त्रणका लागि स्थानीय जनशक्ति पहिचालन भइरहेको  छ । डढेलो नियन्त्रणमा लिनका लागि सेकाथुम गाउँबाट थप जनशक्ति पहिचालन भएको संरक्षण क्षेत्रले जनाएको छ । 
यता संरक्षण क्षेत्र पर्ने फक्ताङलुङ गाउँपालिका–५ पताले सामुदायिक वनमा शनिबारदेखि डढेलो लागेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक संयोजक जितेन लिम्बूले बताए । उनले भने, “डढेलो नियन्त्रणका लागि हामी जाँदै छौँ । अग्निरेखा कोरेर डढेलो नियन्त्रणको प्रयास भइरहेको छ ।” 
संरक्षण क्षेत्रमा लामो समयसम्म वन जङ्गलमा डढेलो लाग्न रोकथाप भएको तर यसवर्ष भने संरक्षण क्षेत्रमा विभिन्न स्थानमा डढेलो लाग्ने क्रम चलिरहेको छ । डढेलो लाग्नको कारण खुल्न नसकेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । दुई हजार ३५ वर्ग किलो मिटर क्षेत्रफल फैलिएको संरक्षण क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । संक्षेत्रका कूल क्षेत्र फलको १६।९ प्रतिशत वन क्षेत्र रहेको छ । दश प्रतिशत बुट्यान क्षेत्र पर्दछ । यस क्षेत्रमा  हिउँ चितुवा, कस्तुरी मृग, हिमाली भालु, ब्वाँसोजस्ता दुर्लभ वन्यजन्तुको बासस्थान रहेको छ । 
लामो समयमा पनि डढेलो नियन्त्रणमा नआउँदा बहुमूल्य वनस्पति र दुलर्भ वन्यजन्यतु साथै जैविक विविधतामा सङ्कट आउन सक्ने स्थानीय संरक्षणकर्मीको भनाइ रहेको छ । ठूलो क्षति हुनबाट रोक्नका लागि डढेलो नियन्त्रणको प्रयास भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रको संरक्षण अधिकृत वाडेन रमेश यादवले बताए।–रासस 
 

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार