सुनसरीमा बढ्यो निर्वाचन गतिविधि

आइतबार, फागुन २९, २०७८

इनरुवा, २९ फागुन ।  सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ । 
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्र पारेका छन् । सरकारले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गतेलाई तय गरेको छ । कांगे्रसले सुनसरीको १२ स्थानीय तहको १२४ वटै वडामा टोल समिति गठन गर्नुका साथै पालिकास्तरीय, प्रदेशसभास्तरीय र सङ्घीय निर्वाचन क्षेत्रस्तरीय भेला सम्पन्न गरेको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए । 
त्यसैगरी एमालेले जिल्लाको विभिन्न स्थानीय तहमा चुनाव लक्षित कार्यक्रमलाई अगाडि बढाएको पार्टीका जिल्ला सचिव पर्शुराम यादवले जानकारी दिनुभयो । पार्टी टोल समिति गठन,  १२ स्थानीय तहको १२४ वटै वडामा टोलभेला तथा प्रशिक्षण गर्ने तयारीमा जुटेको छ । एउटा वडामा पाँचदेखि २५ वटासम्म टोल कमिटी गठन गरिएको यादवले बताए। भ्रातृ संस्थाको  भेला, प्रशिक्षण र कमिटी गठनको कार्य भइरहेको उनले उल्लेख गरे । 
यस्तै माओवादी केन्द्रले पार्टीको नगर तथा गाउँपालिकामा जनवर्गीय सङ्गठन गठनलाई तीव्रता दिनुका साथै नेता कार्यकर्तालाई गाउँगाउँमा खटाएको जिल्ला संयोजक योगेन्द्रप्रसाद मण्डलले जानकारी दिए। 
त्यसैगरी जनता (समाजवादी पार्टी)ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्नेलगायत कार्य अगाडि बढाएको जिल्ला अध्यक्ष भगिरथ खत्वेले जानकारी दिए ।

कञ्चनपुरमा १९ हजार मतदाता थपिए
कञ्चनपुरमा १९ हजार ८ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिएसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सच्याउनुपर्ने, नामावली कार्ड हराएका र मृत्यु भएकाको विवरण निर्वाचन आयोगमा पठाउने काम सम्पन्न गर्दैछ ।
नौ पालिका रहेको जिल्लामा हालसम्म १८ वर्षमाथिका मतदाता दुई लाख ९७ हजार ३४१ रहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टले जानकारी दिइन् । “नामावली दाबी विरोधको अवधि सकिएपछि अहिले मृत्यु भएकाको विवरण सङ्कलन गरेर आयोगमा पठाउने काममा खटिएका छौँ ।” उनले भनिन्, “नामावली कार्ड हराएका र सच्याउनुपर्ने काममा लागेका छौँ ।”
विसं २०७७ माघ २५ गतेसम्म जिल्लामा दुई लाख ७८ हजार ३३३ मतदाता रहेको कार्यालयले जनाएको छ । “तीन लाख एक हजार ३७८ जनाको नामावली सङ्कलन गरेर पठाएको विष्टले बताए । उनले भने, “आयोगबाट दुई लाख ९७ हजार ३४१ मतदाताको विवरण आएको छ ।” आगामी चैत मसान्तभित्र आयोगले जिल्लाको अन्तिम मतदाता नामावली उपलब्ध गराउने बताइएको छ । मङ्सिरयता दुई चरणमा कार्यालयले मतदाता नामावली सङ्कलन गरेको थियो । कार्यालयका अनुसार हालसम्म भीमदत्त नगरपालिकामा सबैभन्दा बढी ६७ हजार १७८ मतदाता छन् ।
त्यसैगरी बेदकोट नगरपालिकामा ३२ हजार ९५३, शुक्लाफाँटामा ३१ हजार ५४६, कृष्णपुरमा ४० हजार ५७३, दोधारा चाँदनी नगरपालिकामा २७ हजार ७४, बेलौरी नगरपालिकामा ३४ हजार ८८६, पुर्नबासमा ३४ हजार १८१, लालझाडी गाउँपालिकामा १४ हजार १७१ र बेल्डाँडी गाउँपालिकामा १४ हजार ७७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्यु भएकाको विवरण आयोगमा पठाइसकेपछि मतदाता सङ्ख्या घट्ने देखिन्छ । विष्टले भने, “अन्तिम नामावलीका लागि केही समय पर्खिनुपर्ने हुन्छ ।”

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार