टोटी नालामा ट्रस्ट पुल बन्ने

शनिबार, फागुन २८, २०७८

कञ्चनपुर, २८ फागुन । शुक्लाफाँटा नगरपालिका–७ स्थित टोटी नालमा रु ७१ लाख लागतमा ट्रस्ट पुल बनाउने प्रक्रिया अगाडि बढाइएको छ । पुल उपभोक्ता समितिमार्फत निर्माण गरिनेछ । त्यसमा सामाजिक तथा प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरको रहेको छ ।
पुल निर्माणका लागि नगरपालिकाको रु नौ लाख २४ हजार १२ (१३ प्रतिशत), समुदायको श्रमदान रु एक लाख ४२ हजार १५५ (२ प्रतिशत), दातृ संस्था स्वावको अनुदान रु ६० लाख ४१ हजार ६२३ (८५ प्रतिशत) रहेको छ । पुल निर्माणको कार्य असार मसान्तसम्म सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाइएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए । पुल निर्माण भएपछि ४०० घरघुरीका पाँच हजार ५०० लाभान्वीत हुने छन । पुलको लम्बाइ ६४ मिटर रहेको छ । 

मेलाको सुरक्षालाई सिसीटिभी जडान 
शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम (मुडका) स्थित वैजनाथ मन्दिरमा आज लाग्ने मेलामा आवांच्छित क्रियाकलाप रोक्न ४८ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।
मेला क्षेत्रमा हुनसक्ने चोरी, आपराधिक क्रियाकलाप, दुर्घटनालगायत नियन्त्रण गर्न झलारी, फुलेली मणिकाधाम, बतासे झरना पर्यटकीय क्षेत्रमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।
क्यामेराको कन्ट्रोल प्रहरीको निगरानीमा रहने गरी मेला क्षेत्रमै राखिएको छ । मेला अवधिभरि मणिका धाम क्षेत्रमा सिसीटिभी क्यामेराको निगरानी रहने वडाध्यक्ष बहादुर महराले बताए । मेलाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत गए रातिदेखि नै परिचालन गरिएको छ ।
मेला क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सवारी साधन पार्किङको छुट्टैरुपमा व्यवस्था गरिएको छ । 
बिहानैदेखि मणिकाधाम क्षेत्रमा दशर्नार्थीको घुइँचो लागेको छ । मेला क्षेत्रमा वृद्धवृद्धा र महिलाका लागि मन्दिरमा दर्शन गर्नका लागि विशेष व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर ऐरले बताए । प्रतिवर्ष यहाँ मेला भर्नका लागि नेपाल भारतका दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । 
मणिका धामलाई यस क्षेत्रका स्थानीय बासिन्दाले मुडकाका नामले चिन्दछन् । धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ । थारु भाषामा मुड भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुड शब्दको अप्रभंस भई मुडका भएको एकथरीको भनाइ रहेको छ । पहाडबाट मौसमीरुपमा बसाई सारेर झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्रु अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुँदै गएको छ ।–रासस 

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार