सोसल मिडिया
Contact Us
युनिकोड
रुकुम (पूर्व), २७ फागुन । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा फेला परेको सकेट बम सेनाद्वारा निष्क्रिय गरिएको छ । कालो प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा बिहीबार फेला परेका सकेट बम आज शुक्रबार दिउँसो सेनाले निष्क्रिय गरेको हो । ड्रमबाहिर दुई वटा र ड्रमभित्र अनुमानित आठ गरी करिब १० वटा सकेट बम नेपाली सेना र नेपाल प्रहरीको टोलीले निष्क्रिय गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । बिहीबार दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए । वडाले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेको थियो । आज बिहान जिल्लाबाट गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमलाई निष्क्रिय गरेका हुन् । दस वर्षे सशस्त्र जनयुद्ध क्रममा तत्कालीन नेकपा माओवादीका लडाकुले उक्त सकेट बम युद्धकालमा त्यहाँ छोडेको हुन सक्ने वडाध्यक्ष केसीले बताए । सेनानी बाबुलाल जिसी नेतृत्वको ११ को टोलीले बम निष्क्रिय गरेको प्रहरीले जनाएको छ । निष्क्रिय गर्दा ठूलो आवाजमा बम पड्किएको थियो । दुई चरणमा गरी सबै बम निष्क्रिय गरिएको हो । मन्त्री आलेद्वारा उपचारका लागि आर्थिक सहयोग प्रदान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि खुट्टाको समस्या भएर उपचार गर्न नसकेका डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरे । आज शुक्रबार मन्त्रालयमा उपचारका लागि सहयोगको अपेक्षासहित आउनुभएका साउदलाई मन्त्री आलेले आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार प्रदान गरेका हुन् । साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टीनो माइकोसिस (ढुसी) नामक सङ्क्रमण देखिएको र खुट्टानै काट्नुपर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकिसकले जानकारी दिएपछि साउद उपचारका लागि आर्थिक सहयोग माग्न मन्त्रालय पुगेका थिए । मन्त्री आलेले हाललाई परीक्षणका लागि भन्दै उपचार सहयोग दिएको र उनको थप उपचारका लागि आफूले पहल गर्ने बचनबद्धता व्यक्त गर्नुभएको मन्त्री आलेको स्वकीय सचिवालयले जनाएको छ ।