नेपाल श्रीलङ्का संयुक्त–११ सँग पराजित

शुक्रबार, फागुन २७, २०७८
Global Ime Bank

काठमाडौँ, २७ फागुन । श्रीलङ्का भ्रमणमा रहेको नेपाल आफ्नो चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ । श्रीलङ्काको संयुक्त–११ ले दिएको २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ६२ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । 
त्यस्तै कुशल भुर्तेलले ३२ रन बनाउँदा रोहितकुमार पौडेलले २१ रनको योगदान गरे । आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दीपेन्द्रसिंह ऐरीले २ रन जोडे भने विनोद भण्डारी र सागर ढकालले समान १÷१ रन बनाए । श्रीलङ्का संयुक्त–११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे । 
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलङ्का संयुक्त–११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो । संयुक्त–११ का लागि अनुक फर्नान्डोले सर्वाधिक ५६ रन बनाए भने सान्दुन विराक्कोडीले ४९ रन जोडे । 
दिलसान मुनाविराले १४, उपुल थरङ्गाले ३ , थिसेरा परेराले ८ रन जोडे । चमारा सिल्भा ६ र तथा निसन्था १८ रनमा आउट भए । कुमारस्वामी ३० र दिलरुवान परेरा १४ रनमा आउट भए । नेपालका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान ३÷३ विकेट लिए । सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए । 
नेपालले यसअघि खेलेको तीन अभ्यास खेलमा जित हात पारेको थियो । नेपालले पहिलो अभ्यास खेलमा श्रीलङ्का नेभी स्पोर्ट्स क्लबलाई १११ रन र दोस्रो खेलमा नेभीलाई नै ८२ रनले पराजित गरेको थियो । त्यस्तै हिजो भएको तेस्रो अभ्यास खेलमा नेपालले श्रीलङ्का पुलिसलाई १४४ रनले पराजित गरेको थियो ।
यस खेलसँगै नेपालको श्रीलङ्का भ्रमण समाप्त भएको छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत युएई र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्नका लागि नेपाली टोली यही फागुन ३० गते संयुक्त अरब इमिरेट्स (युएई) जानेछ । 

इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा पूर्वाञ्चल क्रिकेट विजयी 

पूर्वाञ्चल क्रिकेट क्लब इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको आज भएको खेलमा विजयी भई फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिल खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल क्रिकेट क्लब फाइनलमा पुगेकोे हो । 
पहिले ब्याटिङ्ग गरेको पूर्वाञ्चलले २०४ रन बनाएको थियो । एमसिसी ‘ए’ १८ दशमलव एक बलमा १६४ रनमा अलआउट भएको थियो । पूर्वाञ्चलका अजय राजवंशी चार विकेट लिन सफल भएसँगै ‘म्यान अफ द म्याच’ घोषित भएका छन् । पूर्वाञ्चलले शनिबार हुने दोस्रो सेमिफाइनल खेल समशेर क्रिकेट क्बल कानपुर(भारत) र सन्नी क्रिकेट क्बल कटियार (भारत)सँगको विजेता टिमसँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । 

मेयर कप क्रिकेटमा थालिगडा र देहिमाडौँ विजयी
बैतडीको दशरथचन्द नगरपालिकामा जारी  पाचौँ संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्र्तगत शुक्रबार सम्पन्न खेलमा दशरथचन्द नगरपालिका–६ थालिगडा र वडा नम्बर २ देहिमाडौँ विजयी भएका छन् । थालिगडाले वडा नम्बर ८ त्रिपुरालाई पाँच रनले हरायो भने देहिमाडौँले वडा नम्बर १ गुरुखालालाई छ विकेटले पराजित गरेको हो ।  
थालिगडाले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको त्रिपुराले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०७ रन मात्रै बनाउन सक्यो । त्रिपुराका लागि मनिष धामी र महेन्द्र मार्कण्डले अर्धसतकीय पारे खेले पनि हार टार्न सकेनन् । मनिषले ७८ र महेन्द्रले अविजित ७७ रन जोडे । थालिगडाका जितेन्द्र रावलले दुई विकेट लिए । 
त्यसअघि निङ्ग्लाशैनी खेलमैदानमा पहिला ब्याटिङ गरेको थालिगडाले २० ओभरमा छ विकेटको क्षतिमा २१२ बनायो । उसका लागि लोकेन्द्र सिंह रावलले ५६ र विक्रम कार्कीले नटआउट ५० रन हिर्काएका थिए । त्रिपुराका लागि जगदीश मौनी र मुकेश थापाले दुई÷दुई विकेट झारे । खेलका म्यान अफ द म्याच थालिगडाका लोकेन्द्रसिंह रावल चुनिएका स्कोरर तिलक बोहराले जानकारी दिए ।  
यस्तै अर्को खेलमा दशरथचन्द–२ देहिमाडौँले वडा नम्बर १ गुरुखोलालाई छ विकेटले हराएको छ । गुरुखोलाले दिएको ११२ रनको लक्ष्य देहिमाडौँले ७.२ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो ।  देहीमाडौँका लागि भुपेन्द्र रावतले नटआउट ४४, दीपक बोहरा ३२ र सन्तोस बिजलेले ३० रन जोडे । गुरुखोलाका हरिश भाटले दुई विकेट लिए ।    
त्यसअघि पहिला ब्याटिङ गरेको गुरुखोला १७.४ ओभरमा १११ रनमा समेटियो । गुरुखोलाका लागि सुरेश भाटले ३३, दीपक भट्टले २३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् । देहिमाडौँका दीपक बोहराले चार, सन्तोस बिजलेले दुई विकेट झारे । खेलका म्यान अफ द म्याच देहिमाडौँका दीपक बोहरा भए ।  
दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगिता चैत २ गते सम्पन्न हुने छ । प्रतियोगितामा सहभागी ११ टोलीलाई चार समूहमा विभाजन गरिएको नगरक्रिकेट समितिले जनाएको छ ।  
उपाधि विजेता टोलीले रु ७५ हजार र उपविजेता टोलीले रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।
 नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई चार रनले स्तब्ध पार्दै वडा नं ४ खलङ्गाले हात पारेको थियो ।

त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगितामा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।  आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो । खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्री किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दीपकराजसिंह ठकुरीले गोल गरे । दोस्रो हाफमा आर्मीले तीन गोल थप्यो । ६०औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पु¥याए । ८०औँ मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग फराकिलो अन्तर बनाए । ८४औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन् । स्टार खेलाडी गुमाएको सातदोबाटोले निर्धारित ९० मिनेटमा आर्मीविरुद्ध खासै मुभ बनाउन सकेन । ५३ मिनेटमा स्ट्राइकर सुशील राईको पासमा सातदोबाटोका स्कोरर दीपकराजसिंह ठकुरीको कडा प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाए ।
आर्मीले खेलमा एक दर्जनभन्दा बढी अवसर सिर्जना ग¥यो । छैटौँ मिनेटमा आर्मीका दीपक गुरुङको प्रहार आकासियो । १५औँ मिनेटमा सन्तोष तामाङले पेनाल्टी एरियाबाट गरेको प्रहार खेर जाँदा आर्मी अग्रता लिने अवसरबाट वञ्चित भयो । २५औँ मिनेटमा टङ्क बस्नेतको क्रसमा टेकबहादुर बुढाथोकीले गरेको हेडर विपक्षी गोलरक्षक अभिषेक बरालले पञ्च गरेर बचाए । ४१ औँ मिनेटमा टङ्क बस्नेतको प्रहार पोस्टमा लागेर फर्कियो । ५८औँ मिनेटमा सन्तोष तामाङको प्रहार फस्र्टबारमा लागेर फर्कियो ।
शनिबारको अन्तिम सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र सङ्कटा क्लबबीच हुनेछ । आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आर्मी लगातार चौथोपटक फाइनल प्रवेश गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  २२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार