सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २७ फागुन । कर्मचारी प्रशासनलाई स्थायी सरकारका रूपमा चिनिन्छ । स्थानीय तहमा नागरिकलाई सेवा सुविधा प्रदान गर्ने काममा ती कर्मचारी खटिन्छन् । नागरिकले आफ्नो गाँस काटेर राज्यलाई कर बुझाएको हुन्छ । सोही करका आधारमा उनीहरूले तलब भत्ता लिन्छन् । कानून कार्यान्वयन गराउने र स्थानीयरूपमा उठ्ने आन्तरिक आय सरकारी खातामा जम्मा गराउने दायित्वसमेत सोही कर्मचारीको हुन्छ । तर, उनीहरूले नै कानूनविपरीतका काम गरे भने त्यसलाई तपाईं आर्थिक अपराधबाहेक अरु केही उपमा दिन सक्नुहुन्छ र ? पक्कै पनि सक्नुहुन्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दायर गरेको एक मुद्दाका आधारमा सरकारी कर्मचारीले कुन हदसम्मको बदमासी गर्छन् भन्ने स्पष्ट भएको छ । यो प्रसङ्ग हो सिरहाको साविक राजपुर गाविसको । स्थानीय जनप्रतिनिधि नभएको अवस्थामा सबै जिम्मेवारी लिएका कर्मचारीले आन्तरिक आयतर्फको आम्दानीको रकम हिनामिना गरेको पाइएको छ । आर्थिक वर्ष २०६९-०७० र आव २०७०-०७१ को आन्तरिक आयमा भएको आम्दानीको रकम हिनामिना गरेको आयोगको ठहर छ । साविक राजपुरका तत्कालीन सचिव केशवप्रसाद घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाइको तालिमका लागि लिएको पेश्की, दलित दलान निर्माणको बिलभन्दा बढी भुक्तानी गरेको अध्ययनबाट खुलेको छ । यसैगरी विद्युत् पोल खरिदमा बिलबमोजिमको सामग्री प्राप्त नभई भुक्तानी गरेको, अर्को गाविसको समेत सामाजिक सुरक्षा भत्तासमेत दुरुपयोग गरेको पाइएको छ । विवरणअनुसार सामाजिक सुरक्षा भत्ताको आव २०७२÷०७३ को दोस्रो किस्ताको रकम बैंकबाट झिकी वितरण नगरेको, कुनै बिल नराखी खरिद आदेश दिएको, दाखिला आदेशसमेत नराखी चेक काटेर शीर्षक नखुलेको स्टेशनरी, कार्यालय सञ्चालन खर्च, विकास निर्माणसमेतका शीर्षकहरूमा रु २४ लाख ९२ हजार ५१० हिनामिना गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार अन्य सामग्री खरिदमा रु दुई लाख ६७ हजार २६ र नक्कली बिल पेश गरी रु दुई लाख ६७ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । यसैगरी साविक राजापुर गाविसका खाता सञ्चालक सामाजिक विकास अधिकृत अरुण शाह विरुद्ध रु दुई लाख ६७ हजार २६, कल्याणपुर नगरपालिका सिरहाका अधिकृत (छैठौँ) शिवजी कामतीविरुद्ध रु दुई लाख ८१ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आयोगले घिमिरे मात्रैले रु १९ लाख ८४ लाख ८७५, कामती विरुद्ध रु दुई लाख ८१ हजार बराबरको हिनामिना गरेको देखिएको छ ।
कीर्ते गरेको आरोपमा भोटखोला–४ का वडाध्यक्ष पक्राउ
सङ्खुवासभा प्रहरीले जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ । जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । भोटेसहित सात जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ । भोटे एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाइफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा रु एक लाख दिएर पास गरेको बताइएको छ । पक्राउ परेका आरोपीलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रनाउ सुवेदीले जानकारी दिए ।
प्रतिबन्धित भारतीय मुद्रासहित विदेशी नागरिक नियन्त्रणमा
प्रतिबन्धित भारतीय मुद्रासहित प्रहरीले त्रिभुवन अनतराष्ट्रिय विमानस्थलबाट दुई जना थाइ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जनतासन र ४१ वर्षीया वारापर्न खुनसोमबट रहेका छन् । उनीहरूको साथबाट दुई हजार दरका चार थान र ५०० दरका ५७३ थान गरी जम्मा दुई लाख ९४ हजार ५०० भारतीय रूपैयाँ बरामद गरिएको छ । भिस्टारा एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका बेला एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनीहरूको साथमा प्रतिवन्धित भारतीय रूपैयाँ फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको त्रिभुवन अन्तरराष्ट्रिय सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।
सुन चाँदीका गरगहना लुटपाट गर्ने पक्राउ काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट राजकुमार तामाङको सुन र चाँदीका गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ का १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । सुन र चाँदीका गरगहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारेको हो । उनको साथबाट एक तोला सुनको मङ्गलसुत्र, चाँदीको ब्रासलेट र एक थान पोतेको माला बरामद गरिएको छ ।
बैँकिङ अपराधमा सङ्लग्न तीन व्यक्ति पक्राउ
काठमाडौँ, २७ फागुन । बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको गोङ्गबु बस्ने गोरखा भीमसेन थापा गाउँपालिका–६ का २५ वर्षीय निसम विक, काठमाडौँँको मनमैजु बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१७ का ३२ वर्षीय मुन्दिप भुजेल र काठमाडौँ रामकोट बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ की ३६ वर्षीया शान्ता कोइराला दवाडी रहेका छन् । निसम र मुन्दिपलाई विहीबार र शान्तालाई आज शुक्रबार पक्राउ गरिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत मंसिर १२ को फैसलाले मुन्दिपलाई ४ दिन कैद र रु ९ लाख जरिवाना तथा गत मंसिर २१ को फैसलाले शान्तालाई रु ९ लाख ९० हजार जरिवाना हुने ठहर भएको थियो । निसमको नाममा भने बैकिंङ कसुर मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो । महाशाखबाट खटिएको प्रहरीले मुन्दिपलाई काठमाडौँको मनमैजुबाट, निसमलाई वनस्थलीबाट र शान्तालाई सितापाइलाबाट पक्राउ गरेको हो । दुई जनालाई फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ भने निसमलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।