पदमा रहुञ्जेल नेपाली जनताकै काम गरेर बस्छुः मन्त्री आले 

शुक्रबार, फागुन २७, २०७८

काठमाडौँ, २७ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने बताएका छन् । उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट पारे ।  नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज काठमाडौँमा आयोजित छैठौँ राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले भने “म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितका लागि नै काम गर्छु । देश र नागरिकभन्दा मेरा लागि ठूलो कुरा अरु केही छैन ।” मन्त्री आलेले दलित, जनजाती समुदायहरू विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ कटिबद्ध रहेको बताए । “दलित समुदायले बनाएका औजारहरू प्रयोग गर्न मिल्ने तर उनीहरूसँग पानी नचल्ने जस्तो विभेद्को अन्त गर्नुपर्छ” उनले भने ।  समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरूका पक्षमा आफूले बिगतदेखि नै वकालत गर्दै आएको उनको भनाई थियो । दलित समुदायको बृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरूको सहयोगका लागि मन्त्रालय सधै‌ सकारात्मक रही काम गर्ने उनले बताए । गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको भनाइ थियो । उक्त कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका बिरुद्ध काम गर्ने तीन जनालाई सम्मान प्रदान गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  २२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार