सामाजिक सञ्जाल बन्द गरिदिने रूसको चेतावनी 

शुक्रबार, फागुन २७, २०७८

मस्को, २७ फागुन । रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरू निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ ।   रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो ।  “रूसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्छ,” रूसी एक अधिकारीले भने ।
फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रूसविरुद्ध हिंसा भड्काउने सामग्रीलाई रातो बत्तीको सङ्केत उल्लेख गर्ने घोषणा गरेको थियो ।
मेटाले रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरू प्रकाशित गर्ने प्रयोगकर्ताहरूलाई केही समय फेसबुक प्रयोग गर्नैै नमिल्ने बनाइदिने चेतावनी पनि दिएको छ । 
रूसले युक्रेनमाथि आक्रमण गरेपछि त्यसविरुद्धमा सामाजिक सञ्जालहरूमा रूसविरुद्ध चर्को आलोचना गर्दै हिंसा भड्काउने सामग्री प्रकाशित हुन थालेका थिए । 
अमेरिकी कतिपय सञ्चारमाध्यमहरूमा रूस र बेलारुसका राष्ट्रपतिको हत्या गर्नुपर्ने जस्ता प्रतिक्रियासहितका सामग्रीहरू प्रकाशित भइरहेको रूसी समाचार संस्था स्पुत्निकले जनाएको छ । 

इरानसँगको आणविक वार्ता रोकियो
सन् २०१५ इरानसँग भएको आणविक सम्झौताको पुनरुत्थान सम्बन्धमा युरोपेली सङ्घले अध्यक्षता गरिरहेको वार्ता शुक्रबारदेखि रोकिएको ईयूले जनाएको छ । वार्ताको केही दिनपछि वार्ताले सकारात्मक मोड लिइरहेको बताइएको समयमा रूसद्वारा वार्ता प्रक्रियालाई रोक्न गरिएको आह्वानपछि वार्ता अवरूद्ध बनेको हो । 
‘वार्ताको अन्तिम चरणमा सबै बुँदा तयार भई ‘सकारात्मक छलफल’ भइरहेका समय  ‘बाह्य शक्तिका कारण’ वार्ता रोकिएको युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले ट्वीटमार्फत जानकारी गराएको छन् । हालको वार्ता नोभेम्बरको अन्त्यतिर अस्ट्रियाको राजधानी भियनामा बेलायत, चीन, फ्रान्स, जर्मनी, इरान र रुसबीच सुरु भएको थियो । अमेरिकाले अप्रत्यक्ष रूपमा भाग लिएको थियो । 
सन् २०१८ मा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताबाट हटेपछि इरानले पनि क्रमशः सम्झौतालाई भङ्ग गरेको थियो । वार्ता टोलीले सन् २०१५ संयुक्त व्यापक कार्ययोजना (जेसीपीओए) पुनः जीवित गर्नका लागि लक्ष्यतर्फ धेरैजसो उपायबारे प्रगति भएको थियो । वार्ताको व्यक्तिगत अध्यक्षता गरिरहेका युरोपीय सङ्घका कूटनीतिज्ञ एनरिक मोराले संवाददाताहरूसँग भने, “वार्तामा असहमतिका कतिपय बुँदामा ‘फुटनोट’ लेख्ने हदसम्म पुगिएको थियो ।”  उनले विशेष गरी संयुक्त राज्य अमेरिका र इरानलाई उनीहरूको “अत्यन्तै रचनात्मक र धेरै सकारात्मक दृष्टिकोण” का लागि प्रशंसा गरे । 
तथापि, गत हप्ता रूसले युक्रेनको आक्रमणपछि आफ्नो अर्थ व्यवस्थामा लगाइएको पश्चिमी प्रतिबन्धले इरानसँगको आफ्नो व्यापारमा कुनै प्रभाव पार्ने छैन भन्ने ग्यारेन्टी माग गरिरहेको बताएको थियो । सन् २०१५ मा मौलिक जेसीपीओएमा जस्तै, मस्कोले कुनै पनि नयाँ सम्झौता कार्यान्वयनमा भूमिका खेल्ने अपेक्षा गरिएको थियो ।

युक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको रूसको भनाइ 

रूसले युक्रेनको अस्पतालमा आक्रमण नगरेको दाबी गरेको छ । रूसले भने युक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको दाबी गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले युक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका सहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय युक्रेनी अस्पतालमा रूसले कुनै आक्रमण नगरेको बताएको हो । युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताउनुभएको थियो । त्यसलाई रुसले भने अस्वीकार गरेको हो ।  यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आत्मविश्वासका साथ झुठो बोल्ने गरेका पनि आरोप लगाएका छन् । रूसले युक्रेनमाथि आक्रमण गर्न सुरु गरेपछि विश्वभर रूसको आलोचना भइरहेको छ । १५ लाखभन्दा बढी युक्रेनी नागरिक रुसी आक्रमणबाट जोगिन आफ्नो देश छोडेर छिमेकी मुलुकमा पुगेका छन् ।–रासस/एएफपी
 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  २२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार