न्यायिक सुधार गर्न कार्यदल गठन

शुक्रबार, फागुन २७, २०७८

काठमाडौँ, २७ फागुन । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधानको भावनाअनुरुप न्याय सम्पादन छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले न्यायिक सुधार गर्न कार्यदल गठन गरेको छ । 
मन्त्रालयले नयाँ कानून निर्माण गर्नुपर्ने वा विद्यमान न्याय प्रशासनसँग सम्बन्धित कानून संशोधन गर्नुपर्ने भए सो समेतको मस्यौदासहितको अध्ययन प्रतिवेदन १० दिनभित्र पेश गर्ने मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
कार्यदलमा सर्वाेच्च अदालत, महान्याधिवक्ताको कार्यालय, न्यायपरिषद्, नेपाल कानून आयोग र नेपाल बार एशोसिएसनको प्रतिनिधि रहनेगरी मन्त्रिस्तरीय निर्णय भएको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए ।
अदालतको कार्यबोझ घटाउने र लामो समयसम्म मुद्दा विचाराधीन रहने अवस्थामा सुधार गरी न्याय सम्पादनलाई पूर्वअनुमान योग्य बनाई संविधानले सुिनश्चित गरेको न्यायसम्बन्धी हकलाई कार्यान्वयन गर्नेसमेत प्रयोजन रहेको मन्त्रालयले जनाएको छ । 
त्यसका लागि न्यायिक सुधार सम्बन्धमा हालसम्म विभिन्न प्रतिवेदनले दिएका सुझावसमेत विचार गरी नयाँ कानून निर्माण गर्नुपर्ने वा विद्यमान कानून संशोधन गरिनेछ ।–रासस 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ०४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार