सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २५ फागुन : पछिल्लो ११ महिनामा आगलागीका घटनामा परी देशभर ८३ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ देखि फागुन २४ गतेसम्मको अवधिमा आगलागीका घटनामा परी उनीहरुको ज्यान गएको हो ।
यो अवधिमा देशभर २ हजार ८६ वटा आगलागीका घटना रेकर्ड भएका छन् । यीमध्ये २ हजार २० वटा आगलागी घर, गोठ, उद्योग र कारखानामा भएका हुन् भने ६६ वटा जंगलमा ।
घर, गोठ, उद्योग र कारखानामा लागेको आगलागीमा परी ८० जना र जंगलमा लागेको आगलागीमा परी ३ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
आगलागीमा परी यो वर्ष हालसम्म ३५२ जना घाइते भएका छन् । आगलागीका घटनाबाट २ हजार ४२२ परिवार प्रभावित भएको प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार आगलागीले यो वर्ष हालसम्म २ अर्ब २ करोड ८७ लाख १० हजार १२४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न
प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २४ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न भएको छ ।
तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रमबीच सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले तालिममा सिकेका ज्ञान, सीप र दक्षतालाई चनाखो भई विपद् उद्दारमा प्रयोग गर्नुपर्ने बताए थिए ।
प्रहरी कर्मचारीहरूलाई विपद्, खोज तथा उद्दार कार्य सम्बन्धी ज्ञान सिप प्रदान गरी दक्ष उद्दारकर्मी तयार गर्न तालिम प्रदान गरिएको उनले जनाए ।
तालिम संयोजक प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले ४५ दिने तालिममा प्रहरी निरीक्षक २ जना, प्रहरी नायव निरीक्षक ३ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार ३ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरु सहभागी भएको बताए ।