सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २५ फागुन : नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आईसीसी टी–२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा कुशल २९औं स्थानमा उक्लिएका हुन् । यो कुनै पनि नेपाली ब्याटरको सबैभन्दा उत्कृष्ट वरीयता हो । यसअघि पछिल्लो हप्ता उनी वरीयताको ३१औं स्थानमा थिए ।
यस्तै, नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको भने वरीयता एक स्थान खस्किएको छ । पछिल्लो हप्ता वरीयताको ५०औं स्थानमा रहेका दीपेन्द्र ५१औं स्थानमा झरेका छन् ।
वरीयताको शीर्ष पाँचमा कुनै परिवर्तन भएको छैन । वरीयताको शीर्ष र दोस्रो स्थानमा पाकिस्तानी ब्याटरद्वय बाबर आजम र मोहम्मद रिजवान छन् ।
यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकी ब्याटर आइदेन मार्करम, चौथो स्थानमा इंग्ल्यान्डका डेविड मलान र पाँचौं स्थानमा न्युजिल्यान्डका डेभिन कोनवे छन् ।
दीपेन्द्र आइसिसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी फेब्रुअरी महिनाको आइसीसी ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा परेका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेका मनोनयमा संयुक्त अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द र भारतीय टोलीका ब्याटर श्रेयस ऐयरसँगै दीपेन्द्र महिनाको उत्कृष्ट खेलाडीको मनोनयमा परेका हुन् ।
टी-२० विश्वकपमा ग्लोबल छनोटमा नेपालबाट दीपेन्द्रले गरेको प्रदर्शनका आधारमा आइसीसीले उनलाई मनोनयनमा समेटेको हो । छनोटका खेलमा दीपेन्द्रले १५९ रन र तीन विकेट लिएका थिए । उनले फिलिपिन्सविरुद्ध ४७ बलमा ८३ रन बनाएका थिए ।
आइसीसीले महिलातर्फको पनि ‘प्लेयर अफ दी मन्थ’ को मनोनयमा सार्वजनिक गरेको छ । जसमा भारतकी मिथाली राज र दीप्ति शर्मासँगै न्युजिल्यान्डकी एमिलिया केर परेका छन् ।