बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने

बुधबार, फागुन २५, २०७८


बलेवा, २५ फागुन  ।  निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् ।    तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम सकेर हस्तान्तरणको तयारी छ । बागलुङ नगरपालिका–१४ को बलेवामा निर्माणाधीन विमानस्थल चैत मसान्तभित्र रङ्गरोगन सकेर प्राधिकरणलाई हस्तान्तरण गर्ने तयारी भएको सो आयोजनाका इन्चार्ज वासु थापाले जानकारी दिए  ।     यो विमानस्थलमा साना तथा मझौला जहाज अवतरण गर्न सक्छन् । “सिङ्गो एअरपोर्ट एक प्रतिशत मात्रै स्लोपको छ, त्यसैले यहाँ दुवै साइटबाट जहाज अवतरण गर्न सक्छन्,” थापाले भने , “निर्माणका क्रममा हामीले यो अवस्थामा ल्याउने गरी काम गरेका छौँ ।” कालोपत्र गुणस्तरीय रुपमा गरिएको उनले जानकारी दिए  । प्राधिकरणको रु आठ करोड २४ लाख ३४ हजारमा कालोपत्र गरिएको हो । 

    बलेवा विमानस्थल सात सय मिटर लामो कालोपत्र गरिएको छ । प्राधिकरणका परियोजना व्यवस्थापक सत्यनारायण दुवालले विमानस्थलको नियमित अनुगमन गरेको बताए  । “कोरोनाले समस्या भएर ढिला भए पनि अहिलेको काम सन्तोषजनक छ,” उनले भने , “चैत मसान्तमा हस्तान्तरण भएपछि हवाई उडानबारे काम सुरु हुनेछ ।” यो विमानस्थल सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई राजधानी र भैरहवा लगायतका स्थानमा हवाई मार्गले जोड्नेछ । बलेवा क्षेत्रका नागरिकले श्रमदानबाट थालेर विसं २०१६ देखि २०१८ सम्म यो मैदान बनाएका थिए । आठ सय मिटर लामो यो विमानस्थलमा २०५० सम्म नियमित जहाज उड्थे । बलेवाबाट काठमाडौँ, पोखरा र भैरहवाका नियमित उडान भइरहेकामा पोखरा बागलुङ सडक खुलेपछि रोकिएको बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए  ।

    विमानस्थलमा ७०० मिटर लामो पक्की नालीसमेत बनेको छ । मैदानमा एक हजार ५०० मिटर लामो घेराबार बनाइएको छ । एउटा मुख्य गेट र अर्को आपत्कालीन गेट तयार भएको छ । मैदानको सबै भाग एक किमी लामो छ तर हाल ७०० मिटर लामो क्षेत्रमा तारबार लगाइएको हो । मैदान ६० मिटर चौडा सम्याइएपछि १८ मिटर कालोपत्र भएको हो ।  यो विमानस्थल सञ्चालनका लागि बागलुङ बजारदेखिको आठ किमी सडक कालोपत्र गर्नुपर्ने स्थानीयवासी सुमन भुसालले बताए  । “सरर ट्याक्सीमा जानसक्ने गरी सडक कलोपत्र नगर्दासम्म यो विमानस्थल सञ्चालनमा ल्याउन पनि कठिन छ, विमानमा झरेपछि या विमान चढ्न जान खाल्डाखुल्डीको सडक सहज छैन,” उनको भनाइ छ । हाल कालीगण्डकी करिडोर निर्माणाधीन छ तर नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेपछि भने स्तरोन्नतिको काम पनि ठप्प छ ।

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार