सोसल मिडिया
Contact Us
युनिकोड
किभ, २५ फागुन : किभले पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको दाबी गरेको छ । रुसी सेनामाथि सशक्त प्रतिकार गरेको बताइरहेका बेला युक्रेनको पछिल्लो भनाई आएको हो । रुसी सेनाले मिसाइल र बम हमलाको सहारा लिएको पनि युक्रेनले जनाएको छ ।
‘ पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको छ । मुख्यतया नागरिक पूर्वाधारमा मिसाइल र बम हमलाको सहारा लिएको छ । युक्रेनको सशस्त्र फौजले एक विज्ञप्तिमा भनेको छ । रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ ।
रुसले किभ, सुमी, खारकिभ, मारिओपोललगायतका शहरहरुलाई निरन्तर घेरा हालेको पनि युक्रेनी सेनाले जनाएको छ ।
रुस-युक्रेन युद्धमा अभिनेता पाशाको निधन
रुस र युक्रेनबीच युद्ध जारी छ । यो युद्धमा परेर एक युक्रेनी अभिनेता पाशा लीको निधन भएको छ । युक्रेनी सेनासँग आबद्ध पाशाले देशको सुरक्षाको क्रममा ज्यान गुमाएका हुन् ।
पाशा अग्रमोर्चामा रहेर सेनाको निर्देशन पालन गरिरहेका थिए । यही बेला मार्च ६ मा इरपिनमा भएको बमबारीमा उनको मृत्यु भएको हो । यो कुराको जानकारी ‘ओडेसा इन्टरनेशनल फिल्म फेस्टिभल’ले सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै दिएको हो ।
पाशा ३३ वर्षका थिए । युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि उनले अभिनय करियर छोडेका थिए । यसपछि उनी युक्रेनको टेरिटोरियल डिफेन्स युनिटमा आबद्ध भएका थिए ।
पाशा युक्रेनको लोकप्रिय अभिनेता, डबिङ कलाकार, गायक तथा संगीतकार थिए । उनले आफ्नो करियर टेलिभिजन कमर्शियलबाट सुरु गरेका थिए ।
उनले सन् २००६ मा ‘स्टोलन्या’ नामको फिल्मबाट अभिनय करियर प्रारम्भ गरेका थिए । उनको लोकप्रिय फिल्ममा ‘स्याडो अफ अनफरगटन एन्सेस्टर’, ‘द फाइट रुल्स’ र ‘मिटिङ्स अफ क्लासमेट्स’ छन् ।-एजेन्सी