एमसीसीबारे जथाभावी नबोल्न माधव नेपालको निर्देशन 

कार्की ब्यांक्वेटमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक
बुधबार, फागुन २५, २०७८

काठमाडौं, २५ फागुन : एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका छन् ।

काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिएका हुन् । 

एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ । आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’ 

एमसीसीका विषयमा नेता झलनाथ खनालको फरक विचार सार्वजनिक भइरहेका बेला अध्यक्ष नेपालको सो निर्देशन आएको हो । 

कार्की ब्यांक्वेटमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक 

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ । 

प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) अनुमोदनको बिषयमा पनि छलफल हुनेछ ।  

 

प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार