चार अन्तरिक्षयात्री लिएर गएको ड्रयागन क्याप्स्यूल स्पेस स्टेशनसँग जोडियो

नासा अन्तरिक्ष अभियान 
मंगलबार, मंसिर २, २०७७

न्युयोर्क । पृथ्वीबाट सोमबार उडेका चार अन्तरिक्षयात्रीहरू अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएस पुगेका छन् । उनीहरू चढेको स्पेसएक्स ड्रयागन क्याप्स्यूल उक्त केन्द्रको अग्र भागसँग चरणबद्ध रूपमा जोडिएको थियो । माइक हप्किन्स, श्यानन वाकर, भिक्टर ग्लोभर र सोइची नोगुची अबको ६ महिना अन्तरिक्षमा बस्नेछन् । आईएसएसमा पहिला नै तीन अन्तरिक्षयात्रीहरू केट न्युबिन्स, सेर्गेइ रिजिकोभ र सेर्गेइ कुड–स्वेच्र्काेभ थिए । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सात व्यक्ति त्यहाँ हुँदा सूक्ष्म गुरुत्व विज्ञानको काम तीनगुना बढी गर्न सकिन्छ । आईएसएस पृथ्वीबाट ४१० किलोमिटर माथि अन्तरिक्षमा छ ।
ड्रयागन र आईएसएसबीच भएका ढोकाहरू खोल्नुअघि आगन्तुक समूहले सील परीक्षण र चाप समानीकरणका लागि केही समय कुर्नुपर्नेछ । त्यसपछि उनीहरूलाई त्यहाँ स्वागत गरिनेछ अनि उनीहरूले पृथ्वीमा सञ्चारमाध्यमसँग कुराकानी गर्नेछन् ।

अनुभूति
त्यहाँ पुग्नुअघि चार अन्तरिक्षयात्रीले आफ्नो क्याप्स्यूलबाट भिडिओ देखाउँदै विभिन्न भागको वर्णन गरेका थिए ।‘यो अविश्वसनीय अनुभव हो । अहिलेसम्म गज्जब लागिरहेको छ,’ टोली नेता हप्किन्सले भने । ‘हामी ६ महिना लामो अभियानको २१ घण्टामा छौँ । त्यसैले हामी उत्साहित छौँ’, उनले भने । कुनै प्रमाणित र व्यावसायिक मानव यातायात प्रणालीबाट आईएसएसमा आलोपालो गर्न गएका अन्तरिक्षयात्रीहरूको यो पहिलो समूह हो ।

नासाको ध्यान
उनीहरू फ्याल्कन रकेट र ड्रयागन क्याप्स्यूलको प्रयोग गरेर पृथ्वीबाट अन्तरिक्षमा गएका हुन् । क्यालिफोर्नियास्थित स्पेसएक्स कम्पनीले नासालाई उक्त सेवा उपलब्ध गराउँछ । यसपछि उक्त कम्पनीले नासाका थप पाँचवटा टोलीलाई आईएसएसमा आलोपालो गर्न लग्नेछ । अन्तरिक्षयात्रीलाई पठाउन नासाले पहिला आफ्नै साधन प्रयोग गथ्र्याे । अहिले उसले बाह्य संस्थाबाट शुल्क तिरेर सेवा लिन थालेको छ । तत्कालका लागि सःशुल्क सेवा लिएको नासाको ध्यान चन्द्रमामा फेरि मानव पठाउने रकेट निर्माणमा केन्द्रित छ ।

योजना
हप्किन्सको टोलीसँग अन्तरिक्षमा विभिन्न अनुसन्धान गर्ने योजना छ । त्यसैअन्तर्गत मानव अङ्गको आकृति र कामको नक्कल गर्ने तन्तुयुक्त चिपको परीक्षण गरी माइक्रोग्र्याभिटी वा सूक्ष्मगुरुत्वको मानव स्वास्थ्य र रोगमा कस्तो प्रभाव पर्छ भनेर अध्ययन पनि गरिनेछ । उक्त टोली आईएसएसबाट कम्तीमा चार पटक बाहिर निस्किनेछ । आईएसएसमा ६ महिना बस्दा ती अन्तरिक्षयात्रीहरूले धेरै अन्तरिक्षयानहरू आएको र गएको देख्नेछन् । तीमध्ये बोइङ एरोस्पेस कर्पाेरेशनको स्टारलाइनर क्याप्स्यूल पनि हुनेछ ।
स्पेसएक्स ड्रयागनजस्तै स्टारलाइनर पनि नासा र उससँग सहकार्य गरिरहेका निकायहरूलाई व्यावसायिक रूपमा अन्तरिक्षयात्रीहरू ल्याउन र लैजान प्रयोग गरिएको सेवा हो । बीबीसी 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७  २०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार