सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २० फागुन : सत्तारुढ नेकपा माओवादी केन्द्रीय कमिटीको बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)काे विषय चर्को रुपमा उठने भएको छ ।
गत १३-१९ पुसमा सम्पन्न महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशाेधनबिना नै एमसीसी अनुमोदन गराउने निर्णय लिएको विषयलाई लिएर बैठकमा चर्को रुपमा उठने भएको हो ।
महाधिवेशन र संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा एमसीसीको पक्षमा उभिएकोमा आपत्ति जनाउँदै आएका नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकमा लिखित रुपमा फरक मत राख्ने भएका छन् ।
‘एमसीसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णय प्रति आपत्ति जनाउँदै आउनु भएका नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुनेछ,’ श्रेष्ठ निकट केन्द्रीय सदस्य जीवन गौतमले भने, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यही अनुसार आगमी रणनीति तय हुनेछ ।’
उनका अनुसार बैठकमा राखिएको फरक मतका बारेमा पार्टी केन्द्रीय कमिटीमा घनिभुत छलफल हुनुपर्ने माग श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग राखेका छन् । माओवादी केन्द्रीय कमिटी बैठक राष्ट्रियसभा गृह, प्रदर्शनीमार्गमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।
सांगठनिक कार्यविभाजन छाडेर एमसीसीमा बहस गर्नुपर्ने नारायणकाजी पक्षको माग
एमसीसीबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ ।
गत पुस १३-१९ मा सम्पन्न महाधिवेशनले ‘संशाेधन र परिमार्जन बिना’ एमसीसी अनुमोदन गराउने निर्णय गरेको तर अचानक अध्यक्ष प्रचण्डले ‘व्याख्यात्मक घोषणा’को भरमा अनुमोदन गराउन निर्देशन दिएपछि श्रेष्ठ पक्षले सोही विषयलाई छलफलको प्राथमिकतामा राख्नुपर्ने माग राखेको हो ।
‘महाधिवेशनपछि सांगठनिक जिम्मेवारी बाँडफाँटका लागि केन्द्रीय कमिटी बस्ने भनिएको थियो तर अध्यक्षले महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराउने निर्णयमा पुग्नुभयो’ श्रेष्ठ निकट केन्द्रीय सदस्य प्रकाश पोखरेलले भने, ‘सांगठनिक जिम्मेवारी बाँडफाँटको विषयमा कुनै पनि गृहकार्य नभएको र जल्दोबल्दो रुपमा एमसीसी आएकाले पहिला यसै विषयमा छलफल हुनुपर्ने हाम्रो माग छ ।’ उनका अनुसार एमसीसीका बारेमा छलफल भएपछि मात्रै अन्य विषयमा प्रवेश गर्नुपर्ने सो पक्षकाे निष्कर्ष रहेको छ ।
‘अध्यक्षले महाधिवेशनकाे निर्णयविपरीत एमसीसीको पक्षमा किन उभिनु भएको हो ? त्यसका बारेमा चित्त बुझ्दो प्रस्टीकरण दिनुपर्छ, नभए नारायणकाजी श्रेष्ठले आफ्नाे लिखित राय बैठकमा राख्नु हुनेछ,’ पोखरेलले भने ।
आन्तरिक विवादले माओवादी केन्द्रीय कमिटी बैठकका पूर्वनिर्धारित एजेण्डा प्रभावित
एमसीसीका कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् ।
गत पुस १३-१९ मा सम्पन्न आठौं महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधन बिना नै अचानक एमसीसी अनुमोदन गराउने निर्णय लिएपछि यसअघि तय भएका पदाधिकारी, स्थायी कमिटीदेखि केन्द्रीय सदस्यको मनोनयनसम्मका एजेन्डा प्रभावित हुने भएका हुन् ।
‘मोटामोटी रुपमा महाधिवेशनबाट बाँकी रहेका सांगठानिक कार्यविभाजन, स्थानीय तह निर्वाचनका एजेन्डा सुरुदेखि नै तय भएका हुन्,’ केन्द्रीय सदस्य देवप्रसाद गुरुङले भने, ‘साथै, अब पछिल्लो समयमा बहसमा आएको एमसीसीका बारेमा पनि पक्कै बहस हुने नै छ, त्यसबारेमा पार्टीभित्र देखा परेका फरकमतका बारेमा स्वभाविक रुपमा छलफल र बहस हुने देखिन्छ ।’ उनका अनुसार महाधिवेशन पछिको सांगठानिक कार्यविभाजन र स्थानीय तह निर्वाचनलाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बैठक टुंग्याउने निधो गरिएको थियो ।
सो विषयमा छलफल गर्नका लागि २ फागुन र ८ फागुनका लागि तय भएको बैठक स्थगित गरिएको थियो । एमसीसीका कारण सत्तारुढ गठबन्धन नै अप्ठयारोमा परेको बेला बोलाईएका दुवै बैठक स्थगित गरी २० फागुनका लागि केन्द्रीय समितिको बैठक तेस्रो पटक आब्हान गरिएको हो ।
तर, महाधिवेशन र संसदीय दलको निर्णयविपरीत ‘व्याख्यात्मक घोषणा’को भरमा एमसीसीको पक्षमा मुख्यतः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई उभ्याएपछि आन्तरिक विवाद ‘विभाजनको तहसम्म’ पुगेको विश्लेषण भइरहेको बेला आजबाट केन्द्रीय कमिटी बैठक बस्दैछ ।
संसदीय दलका नेता प्रचण्डको निर्देशन अस्वीकार गर्दै पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्रीद्वय जयपुरी घर्तिमगर र रेखा शर्मासहित यशोदा सुवेदी गुरुङले बैठक बहिस्कार गरेका थिए । प्रतिनिधिसभा बैठकमा उपस्थित भए पनि पूर्वमन्त्री गिरिराजमणी पोखरेल र सांसद अञ्जना बिशंखेले ‘हुन्न’ भन्दै विपक्षमा मत प्रकट गरेपछि माओवादीमा एमसीसी चर्को विवादको विषय बनिरहेको बेला यो बैठक बस्न लागेको हो ।
आजदेखि सुरु हुने बैठकमा नारायणकाजी श्रेष्ठले एमसीसी अनुमोदनका विषयलाई लिएर लिखित रुपमा फरक मत राख्ने भएका छन् । ‘एमसीसीको बारेमा पार्टी नेतृत्वले लिएको निर्णय प्रति आपत्ति जनाउँदै आउनु भएका नारायणकाजी कमरेडले आज बैठकमा फरक मत दर्ज गराउनु हुनेछ,’ श्रेष्ठ निकट केन्द्रिय सदस्य जीवन गौतमले भने, ‘उहाँको लिखित फरक मतलाई पार्टी नेतृत्व र बैठकले कसरी लिनेछ, त्यही अनुसार आगमी रणनीति तय हुनेछ ।’
यसैगरी, महरा, गुरुङसहित लिलामणि पोखरेल, लेखनाथ न्यौपानेले पनि बैठकमा लिखित रुपमा नै फरक मत राख्ने छन् ।