सोसल मिडिया
Contact Us
युनिकोड
याङ्गुन । म्यान्मामा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन् । जसलाई संयुक्त राष्ट्रसंघले सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन भनेको छ । म्यान्माका लागि राष्ट्रसंघीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताइन् । बुधवारको घटनापछि बेलायतले शुक्रबार राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यान्माको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ । सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ । गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्माभर सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन् । म्यान्माका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ । राष्ट्रसंघीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताइन् । उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निःसशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिन्छ । त्यस्तै अर्काेमा सडकमा प्रदर्शनकारीमाथि गोली चलाइएको र सम्भवतः मारिएको देखिन्छ । ‘म केही हतियारविज्ञहरूलाई आग्रह गर्छु । उनीहरूले पुष्टि गर्नसक्छन, स्पष्ट छैन तर प्रहरीको हतियार नौ एमएमको सबमेशिनगन जस्तो देखिन्छ’ उनले भनिन् । सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन् । एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ ।
थोरै साथीसँग हिड्ने कूपछि नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ । प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् । सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ । उक्त चुनावमा सू चीको दल नेशनल डेमोक्रयाटिक पार्टीले ठूलो जित हासिल गरेको थियो । सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन । उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ । अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाकाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ । बुधवार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन् । सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको बताएको छ । राष्ट्रसंघीय दूत बूर्गनरले सैनिक जर्नेलहरूविरुद्ध कडा कदम उठाउन राष्ट्रसंघलाई आग्रह गरेकी छन् । उनले म्यान्मार सेनाका उपप्रमुखसँगको कुराकानीमा दण्डनीय कदम उठाउने चेतावनी दिएकी थिइन् । न्यूयोर्कमा संवाददाताहरूसँग उनले भनिन्, ‘हामी थौरै साथीहरूसँग हिँड्न सक्नुपर्छ भन्ने जबाफ थियो ।’ प्रत्यक्षदर्शीहरूले समाचार संस्था रोयटर्सलाई बताएका अनुसार सुरक्षा फौजले कैयौँ नगर र सहरहरूमा छोटो चेतावनीमै गोली चलाएको छ ।
देख्नेहरूले के भने ? मध्य म्यान्माको मोनयूआको प्रदर्शनमा कम्तीमा चारजना गोली लागेर मारिएका छन् । स्थानीय पत्रकारले बताए अनुसार कम्तीमा ३० जना घाइते भएका छन् । थप मृत्यु याङ्गुन, मान्डले र मिइनजानमा भएको जनाइएको छ । मिइनजानस्थित एकजना स्वास्थ्य स्वयमेवकले एएफपीलाई बताएअनुसार कम्तीमा १० जना घाइते भएका छन् । उनले भने, ‘सुरक्षा फौजले अश्रुग्यास, रबरको गोली र गोली चलाएको थियो ।’ ‘उनीहरूले हामीमाथि पानीको फोहरा प्रहार गरेनन्, भिड तितरबितर पार्न कुनै चेतावनी पनि दिइएन, उनीहरूले एकैपटक बन्दुकबाट गोली चलाए’ एकजना प्रदर्शनकारीले रोयटर्सलाई भने । मान्डलेमा एकजना विद्यार्थी प्रदर्शनकारीले बताएअनुसार उनको घर नजिकै प्रदर्शनकारीहरू मारिएका छन् ।
हिंसा बढ्दै ‘त्यस्तै बिहान १० देखि साढे १० को बीचमा प्रहरी र सेना त्यस क्षेत्रमा आए र सर्वसाधारणमाथि गोली चलाउन सुरु गरे, उनीहरूले कुनै चेतावनी दिएनन्’ उनले भनिन्, ‘रबरको गोली पनि चलाए तर हिंसात्मक ढङ्गले नागरिकको हत्या गर्न गोली पनि चलाए ।’ सेनाले प्रदर्शनकारीहरू मारिएको भनिएको घटनाबारे टिप्पणी गरेको छैन । पछिल्लो हिंसा दक्षिण पूर्वी एशियाका छिमेकी देशहरूका विदेशमन्त्रीहरूसँगको बैठक लगत्तै भएको छ । उक्त समूहले संयम अपनाउन आग्रह गरेको थियो तर केही मन्त्रीहरूले मात्र नेत्री सू चीलाई रिहा गर्न सैनिक सरकारलाई दबाव दिएका थिए । आइतवारको हिंसामा १८ जना मारिएका थिए । निर्वाचित सरकार अपदस्थ गर्दै शक्ति हातमा लिएको म्यान्माको सेनाले संकटकाल घोषणा गरेको छ । पछिल्ला दिनहरूमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच हिंसा बढ्दै गएको देखिन्छ ।–बीबीसी