'ज्येष्ठ पत्रकार वृत्ति’ पूर्ण कार्यान्वयन हुनेमा पत्रकार महासंघ विश्वस्त 

बुधबार, फागुन १८, २०७८

काठमाडौं, १८ फागुन । नेपाल पत्रकार महासंघको लामो पहलपछि सरकारले ज्येष्ठ पत्रकारलाई ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेकोमा नेपाल पत्रकार महासंघ उक्त निर्णयको स्वागत गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहेको जनाएको छ । २०७८ फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट ज्येष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘ज्येष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका ज्येष्ठ पत्रकारलाई  मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘ज्येष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । नेपाल पत्रकार महासंघले विगत लामो समयदेखि ६५ वर्षमाथिका पत्रकारलाई पत्रकार वृत्ति उपलब्ध गराउन सरकारलाई लिखित दबाब र सुझाव दिँदै आएको थियो । सरकारको यो निर्णय स्वागत योग्य भए पनि ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ का कतिपय प्रावधान सरलीकृत गर्न जरुरी रहेकोले महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार