सेना दिवसमा निःशुल्क स्वास्थ्य शिविर

मंगलबार, फागुन १७, २०७८

महेन्द्रनगर, १७ फागुन । महाशिवरात्री तथा सेना दिवसको पुर्वसन्ध्यामा नेपाली सेनाले कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महेन्द्रनगरस्थित श्रीदल गुल्म भगतपुर ब्यारेकको आयोजना एवं बेदकोट नगरपालिकाको सहयोगमा सञ्चालित उक्त स्वास्थ्य शिविरबाट स्थानीय ५५५ महिला तथा पुरुषले स्वास्थ्य सेवा लिएका छन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्ट, सेनाको श्री नंं ५ बाहिनीअन्तर्गत श्री नंं ५ फिएका डा रक्षा गुरागार्इँलगायत दश चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले जानकारी दिए ।
“सेना दिवसको अवसरमा नगरपालिका, स्वास्थ्य कार्यालय, महाकाली अस्पताललगायत निकायको सहयोगमा शिविर सञ्चालन गरिएको हो”, उनले भने, “नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण गर्न र सामाजिक उत्तरदायित्वको भावना बोध गर्दै सेनाले विभिन्न सामाजिक काम गर्दै आएको छ ।” स्वास्थ्य शिविरबाट ३६४ महिला र १९१ पुरुषले स्वास्थ्य सेवा लिएको उहाँले जानकारी दिनुभयो । घरआँगनमै स्वास्थ्य सेवा पाएपछि स्थानीयले सेनाप्रति आभार प्रकट गरेका छन् ।

सिंह र बोहरा तथा अवस्थी र डगौँराको जोडी फाइनलमा  

सेना दिवसको अवसरमा  कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पुरुष सिनियर डबल्स व्याडमिन्टन प्रतियोगिताको फाइनलमा शेरबहादुर सिंह र गोकुल बोहरा तथा चक्र अवस्थी र ज्ञानु डगौंराको जोडी भिड्ने भएको छ ।
सेमिफाइनल खेलमा सिंह र बोहराको जोडीले प्रेमसिंह भाट र प्रकाश पन्तको जोडीलाई २१–१९, १३–२१ र २१–१५ अङ्कले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यस्तै धिरज चन्द र भरत चन्दको जोडीलाई सेमिफाइनलमा हराउँदै अवस्थी र डगौंराको जोडी फाइनलमा पुगेको हो । उक्त प्रतिस्पर्धामा अवस्थी र डगौंराको जोडीले १५–२१, २१–१५ र २१–१८ अङ्कले खेल जितेको हो ।
नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा, भगतपुर ब्यारेकको आयोजना तथा कञ्चनपुर जिल्ला व्याडमिन्टन सङ्घको संयोजनमा सञ्चालन भएको उक्त प्रतियोगितामा जिल्लाभरका २८ टोली सहभागी थिए । प्रतियोगिताका विजयी खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफीसहित पुरस्कृत गरिने नपाली सेनाले जनाएको छ । फाइनल खेल मङ्गलबार महेन्द्रनगरस्थित कभर्डहलमा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार