सोसल मिडिया
Contact Us
युनिकोड
दमौली, १५ फागुन । तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर मृत्यु भएको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भिरबाट खसेको अवस्थामा आज शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष शवको भिरबाट तल ३०-४० मिटर तल खसेको थियो । वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक पोख्रेलले बताए । “वडा कार्यालयबाट निस्किए पनि उहाँ बिहीबारदेखि घर पुग्नुभएको रहेनछ, आज भिरबाट लडेको अवस्थामा शव भेटियो,” उनले भने । उनका अनुसार शवको मुचुल्का गरेर शवपरीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी गरिएको छ । वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
वडाध्यक्षको निधनमा गाउँपालिकामा शोक बिदा तनहुँको देवघाट गाउँपालिकाले वडा नं ३ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य कीर्तिमान आलेको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएका आलेको शोकमा गाउँपालिकाले फागुन १६ गते शोक बिदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट शोक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए । उक्त दिन गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।