सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १५ फागुन । प्रधानसेनापति प्रभुराम शर्माले विभिन्न विधामा सङ्गठनभित्रका उत्कृष्ट प्रतिभालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उनले सङ्गठनका छजना उत्कृष्ट प्रतिभालाई जनही रु ३० हजार नगद र प्रमाणपत्र प्रदान गरेका हुन् । सेना दिवसका अवसरमा सङ्गठनभित्रका विभिन्न विधाका प्रतिभावान् व्यक्तिलाई पहिचान गरी प्रेरणा प्रदान गर्ने उद्देश्यले प्रतिभावान् पहिचान प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नृत्यमा नुदराज अधिकारी, लाइभ म्युजिक ¥यापमा विशाल थापा मगर, गायनमा धनजीत राई र राजकुमार आ.म, पेन्टिङमा युवराज रोक्का र वाद्यवादनतर्फ सरोज परियार उत्कृष्ट घोषित भए । प्रतियोगितामा कमान्ड तथा युनिटबाट विभिन्न विधाका प्रतिभाका २५ प्रतियोगी छनोट गरी पठाएकामा तीमध्ये ११ जनालाई अन्तिम प्रतिस्पर्धा छानिएका हुन् । सो अवसरमा पाँचजना प्रतियोगीलाई सान्त्वना पुरस्कारबापत रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरियो ।
प्रधानसेनापति शर्माद्वारा ‘युनिटी जर्नल’ लोकार्पण प्रधानसेनापति शर्माले नेपाली सेना सैनिक तालिम महानिर्देशनालयद्वारा प्रकाशित ‘युनिटी जर्नल तेस्रो शृङ्खला’को लोकार्पण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उनले जर्नलमा समावेश भएका लेखमध्ये उत्कृष्ट लेखका सर्जकलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरे । उक्त प्रतियोगितामा मनिषजङ्ग पुलामी प्रथम, विराञ्ची पौडेल द्वितीय तथा सुमन डिसी तृतीय घोषित भए । प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ः रु दुई लाख, रु एक लाख र रु ५० हजार नगद पुरस्कार र प्रममाणपत्र प्रदान गरियो । पुस्तकमा अग्रज इतिहासकार, स्थापित लेखक, अनुसन्धानकर्ता, परराष्ट्र मामिलाका जानकार, सुरक्षाविद्सहित समाजका विभिन्न तह र तप्कामा रहेकामा व्यक्तिमा रहेको सुरक्षा तथा सामरिक विषयवस्तुको ज्ञानलाई सङ्ग्रहित गरिएको छ । सेना दिवसका अवसरमा प्रकाशित गरिएको उक्त जर्नलका लागि २७२ लेख प्राप्त भएकामा विभिन्न चरण र प्रक्रिया पूरा गरेका ३० लेखलाई निर्णायक मण्डलले पुस्तकमा समावेशका लागि छनोट गरेको थियो । सेनाले २०७६ सालदेखि युनिटी जर्नल प्रकाशन आरम्भ गरेको हो । प्रकाशित जर्नलमा राष्ट्रियता र राष्ट्र हित, राष्ट्रियता र सामरिक महत्व, बदलिँदो सुरक्षा चुनौती, सैनिक कुटनीति र खेलकुद तथा प्रविधि विषयमा लेखिएका लेख समावेश छन् । सो अवसरमा प्रधानसेनापति शर्माले सामरिक विषयमा रणनीतिक सोचको विकास गर्न, राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउन र राष्ट्रिय एकताको प्रवद्र्धन तथा प्राज्ञिकजगत्मा यसको सकारात्मक वातावरण सिर्जना गर्नु जर्नल प्रकाशनको उद्देश्य रहेको बताए । उनले भने, “देशको आन्तरिक र बाह्य सुरक्षाका विषयमा हरेक नागरिक सचेत हुन जरुरी छ, राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष विषयमा सूक्ष्म ढङ्गले अध्ययन, अनुसन्धान र बौद्धिक बहस हुन आवश्यक छ ।” राष्ट्रिय हित र राष्ट्रिय सुरक्षासँग आइपर्ने सम्पूर्ण विषयमा समाजका सबै तह र तप्काका सुझाव अत्यन्त सान्दर्भिक हुने उल्लेख गर्दै प्रधानसेनापति शर्माले त्यसलाई नीति निर्माणका बखत प्रमाणीकरण गर्नसमेत मिल्ने धारणा राखे । सैनिक तालिम महानिर्देशनालयका प्रमुख उपरथी सीताराम खड्का र सम्पादन मण्डलका सदस्य एवम सहप्राध्यापक स्वेच्छा सङ्ग्रौलाले प्रकाशित जर्नलमा छापिएका लेखको ओज तथा प्रतियोगिता सम्बन्धमा प्रकाश पारे ।–रासस