सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १४ फागुन । जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन काठमाडौँदेखि विश्वको अग्लो हिमाल सगरमाथाको आधारशिवर कालापत्थरसम्म पदयात्रा हुनेभएको छ । यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसमा काठमाडौँदेखि कालापत्थरसम्म विभिन्न क्षेत्रका ४० जना महिलाले १३ दिने पदयात्रा गर्ने भएका हुन् । ‘साथसाथै’ संस्थाको आयोजनामा हुने पदयात्राका क्रममा यही फागुन १७ गते महिला टोली आधारशिवरतर्फ प्रस्थान हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले दिवसका अवसरमा पराम्परागतभन्दा नौलो र उदाहरणीय कार्यक्रम हुन लागेकामा खुसी व्यक्त गर्दै यस कार्यक्रमबाट महिलाले देश र समाजका साथै जलवायु परिवर्तनका मुद्दामा पनि काम गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्ने बताइन् । उनले विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको उल्लेख गर्दै पदयात्राले वातावरणीय न्यायका लागि जलवायु परिवर्तनका असरविरुद्ध महिलाको आवाज प्रसंशनीय रहेको बताइन् । उनी पनि पदयात्रा अभियानमा सहभागी हुने आयोजक संस्थाले जनाएको छ । ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरु संयुक्त रूपमा पदयात्रा गर्दै आधारशिविरमा पुगेर विशेष कार्यक्रम गरिनेछ । तयारी अन्तिम चरणमा पुगेको र सोमबार १३ दिने पदयात्रा अभियानसहित टोली लुक्लातर्फ प्रस्थान गर्ने ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् । उनले भनिन्, “जलवायु परिवर्तनले खासगरी महिला जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न गर्नुपर्ने पहलका बारेमा हामी सो क्षेत्रमा गम्भीर बहस गर्छौँ । यस विषयमा गर्नुपर्ने काम तथा सुझाव समेटेर कालापत्थर महिला घोषणापत्र जारी गर्दैछौँ ।” जलवायु परिवर्तन जस्ता प्रकृतिले उब्जाएका ज्वलन्त समस्याका बारेमा विश्वव्यापी रूपमा ध्यानाकर्षण गराउने योजना पनि रहेको उनले सुनाइन् । अध्यक्ष कार्कीले हिमाल पग्लिनेलगायत जलवायु परिवर्तनका असर विरुद्ध जुट्न ऐक्यबद्धताका लागि विश्वलाई सन्देश दिन कालापत्थरबाट महिला आवाज उठाउने बताउँदै आगामी दिनमा ‘साथसाथै’ को यो अभियान सातै प्रदेशमा पु¥याउने लक्ष्य रहेको जानकारी गराइन् । विश्वमा हरित ग्यास उत्सर्जनले तापमानमा आएको वृद्धिसँगै जलवायु परिवर्तनका विविध असर देखिने गरेका छन् । हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि बढ्दो तापमान र जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको छ । यो अभियान पदयात्रामा मात्र सीमित नभई जलवायु परिवर्तनले प्रभावित ठाउँ जान्न र उत्पन्न चुनौतीलाई न्यूनीकरण गर्न एकताबद्ध हुने, पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न योगदान पुग्ने, सो अवसरमा एकले अर्कालाई चिन्ने र घुलमिल हुने अवसर सिर्जना हुने आयोजकले जनाएको छ । पदयात्रा व्यवस्थापनको जिम्मेवारी लिएको एलिट एक्सिपिडका प्रबन्ध निर्देशक मिङ्मा डेविड शेर्पाले यात्रा गरिने काम र व्यवस्थापनबारे जानकारी गराउँदै पदयात्रामा गरिने प्रत्यक्ष भ्रमणले अनुपम दृश्य देखिने र भोगिने बताए । साथै उनले यस्ता पदयात्राले मुलुकका विभिन्न क्षेत्रमा आन्तरिक पर्यटन अभिवृद्धि हुने अपेक्षा व्यक्त गरे । सगरमाथा पदयात्रा अघि ‘साथसाथै’ ले अन्नपूर्ण आधारशिविर र मार्दी हिमाल क्षेत्रमा पदयात्रा सम्पन्न गरिसकेको जनाएको छ । पृथक भौगोलिक अवस्था र विभिन्न उचाइमा अवस्थित पारिस्थितिकीय क्षेत्र, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, गरिबी, सीमान्तकृत समुदाय र न्यून क्षमताका कारण नेपाल विश्वकै सङ्कटापन्न र जोखिमयुक्त मुलुक मध्येमा पर्न गएको देखिन्छ ।–रासस