अपराजित रहँदै मछिन्द्र लिग च्याम्पियन

शनिबार, फागुन १४, २०७८
Global Ime Bank

काठमाडौं, १४ फागुन  : सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा लिग च्याम्पियन मछिन्द्र क्लबले विभागीय टोली एपीएफ फुटबल क्लबलाई २–१ को पराजित गरेको छ । 

एपीएफविरुद्ध एक गोल बेहोरेका मछिन्द्रका गोलकिपर विशालले यस सिजन पहिलो पटक ओपन प्लेमा गोल खाएका हुन् । विशालले एक हजार एक सय ८४ मिनेटपछि गोल खाएका हुन् ।

विशालले यसअघि लिगको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) विरुद्ध गोल खाएका थिए । एनआरटीविरुद्ध ५४औं मिनेटमा फरवार्ड एरिक विष्टले फ्रिकिकमा मछिन्द्रविरुद्ध गोल गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभिषेक गुरुङले मछिन्द्रलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा एन्ड्रेज चोङ्केउले निकालेको थ्रु बलमा अभिषेक गोल गरे । 

तर, प्रदीप लामाले ७०औं मिनेटमा गोल गरेपछि एपीएफ खेलमा फर्किएको थियो । ८१औं मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि मछिन्द्रले २–१ को जित निश्चित गर्‍यो ।  

त्यसअघि सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबका विक्की तामाङले गरेको पासमा आशिष लामाले छैटौं मिनेटमा गोल गर्न सकेनन् । 

मछिन्द्र फुटबल क्लबका विशाल राईको एक्रोभेटिक सर्टमा अभिषेक रिजालको २१औं मिनेटमा गरेको प्रहार एपीएफका युया कुरियामाले उत्कृष्ट बचाउ गरे । 

त्यसको चार मिनेटपछि विशालले दिएको क्रस पासलाई विमल घर्ती मगरले राम्रो सदुपयोग गर्न सकेनन् । उनले गरेको फितलो प्रहार बाहिरियो । 

एपीएफका प्रदीप लामाले ३८औं मिनेटमा ६ यार्डबाट क्रस गरे पनि आशिष लामाले भेटाउन सकेनन् ।  पहिलो हाफको अन्तिम तीन मिनेटमा गोल खाएपछि एपीएफ दोस्रो हाफमा केही आक्रामक बनेको थियो । 

आशिष लामाले ६३औं मिनेटमा १८ यार्ड बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिट पोस्टको माथिबाट बाहिरियो । खेलको ८९औं मिनेटमा आवास लामिछानले दोस्रो पहेँलो कार्डपछि रातो कार्ड बेहार्दै मैदानबाट बाहिरिएपछि एपीएफ १० खेलाडीमा सीमित बनेको थियो ।

लिगको ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै दुई खेल अगावै लिगको उपाधि रक्षा गरेको मछिन्द्रले १३ खेलबाट ३५ अंक जोड्दै लिगको अन्त्य गर्यो । त्यस्तै, समान खेलबाट १५ अंक जोडेको एपीएफले आठौँ स्थानमा रहँदै लिगको अन्त्य गर्यो । यस पटक लिग तालिकाको पुछारमा रहेका दुई टोली च्यासल यूथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भएका छन् ।

ए डिभिजन लिगमा आर्मीलाई दोस्रो स्थान

सहिद स्मारक ‘ए’ डिभिजन लिग–०७८ को अन्तिम दिन त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै आर्मीले दोस्रो स्थानमा रहँदै लिग टुङ्ग्याएको छ ।

अपराजित रहँदै लिग टुङग्याएको आर्मीले १३ खेलबाट २३ अंक जोड्यो । समान खेलबाट २१ अंक जोड्दै मनाङ पाँचौ स्थानमा रह्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ४५औँ मिनेटमा अञ्जन विष्टले गरेको गोलबाट मनाङले अग्रता लिएको थियो । दिनेश राजवंशीले गरेको हेडर रिबाउन्डमा अन्जनले बललाई जाली चुमाएका थिए ।

तर, मनाङका गोलकिपर अशोक बरालले ७१औँ मिनेट गम्भीर गल्ती गरेपछि आर्मी खेलमा फर्किएको थियो । सन्तोष तामाङले गरेका फ्रि किकमा अशोक र टोलीका डिफेन्डरबीच मिस कम्युनिकेशन भएपछि मनाङका डिफेन्डर फ्रयांकलिन टल्लाको ढाडमा लागेर बलले पोस्टको दिशा लिएको थियो ।

त्यसअघि दोस्रो मिनेटमा आर्मीका सुमन अर्यालले बक्स बाहिरबाट प्रहार गरेको लोअर फ्रि किक सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।
पाँचौ मिनेटमा सन्तोष तामाङले १८ यार्ड बक्सबाट प्रहार गरेको फ्रि किक पहिलो बारबाट बाहिरियो । 

खेलको सुरुआती मिनेटमा तालमेल नमिले पनि त्यसपछिको आधा घण्टासम्म मनाङमाथि आर्मी हावी देखियो । यद्यपि, आर्मीले पहिलो हाफमा पाएका गोलका अवसर सदुपयोग गर्न सकेन ।

३२औँ मिनेटमा आर्मीका योद्धा साहीले गरेको गल्तीको फाइदा मनाङले उठाउन सकेन । मनाङको डिफेन्सबाट आएको लामो बललाई योद्धाले नियन्त्रणमा लिन सकेनन् । सोही बलमा गोलकिपर विकेश कुथु पनि अघि बढेको अवस्थामा मनाङका कप्तान अन्जन विष्ट बलसम्म पुग्न सकेनन् ।
दोस्रो हाफको सुरुआती १० मिनेटमा दुवै टोलीले गोलका गतिलो मौका बनाउन सकेनन ।

आर्मीका विमल पाण्डेले ६३औँ मिनेटमा मैदानको मध्यभागबाट गरेको प्रहार मनाङका गोलकिपर अशोक बरालले सहजै बचाए ।

आर्मीका जर्ज प्रिन्सले ६९औँ मिनेटमा खेलमा फर्किने निकै राम्रो मौका गुमाए । आर्मीका टंक बस्नेतले गरेको कर्नर प्रहार मछिन्द्रका पुजन उपरकोटीले क्लियर गर्न नसक्दा ६ यार्ड बक्सबाट जर्ज प्रिन्सले गरेको प्रहार पोलमाथिबाट बाहिरियो ।

लिगको ११औँ चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  २०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार