प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित

शनिबार, फागुन १४, २०७८

दमक, १४ फागुन  ।  दमक प्रज्ञा प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई एकैसाथ पुरस्कृत तथा सम्मान गरेको छ । प्रतिष्ठानको चौथो स्थापना दिवसका अवसर पारेर आज दमकमा एक समारोहबीच सम्मान गरेको हो ।

प्रतिष्ठानले एकैसाथ फरक–फरक विधामा छवटा पुरस्कार वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले जानकारी दिए  । पुरस्कारमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार प्रा डा गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु ५१ हजार रहेको छ । यस्तै दमक प्रज्ञा संस्कृति पुरस्कार डा सोमबहादुर धिमाल, दमक प्रज्ञा मातृभाषा सहित्य पुरस्कार रचना लावती, दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौला र दमक प्रज्ञा विज्ञान तथा प्रविधि पुरस्कार जसहाङ लिम्बूलाई प्रदान गरिएको हो । यी पुरस्कारको राशि रु २१ हजार रहेको छ ।  यसैगरी रु १५ हजारको दमक प्रज्ञा बाल साहित्य पुरस्कार सेलिया श्रेष्ठलाई प्रदान गरिएको छ ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए  । कार्यक्रममा भाषाविद् टङ्क न्यौपाने, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनालगायत स्थानीय साहित्य क्षेत्रका सर्जकहरूको उपस्थिति थियो । कार्यक्रममा विभिन्न संस्कृतिका झाँकी र साहित्य कला सङ्गम दमकका कलाकारले मनोरञ्जन दिएका थिए । यसैबीच दमक पुस्तकालयको समुद्घाटन गरिएको छ भने विभिन्न स्रष्टाहरूका पुस्तक विमोचनसमेत गरिएको थियो । 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १९:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार