‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ पूर्वमन्त्री खरेललाई प्रदान

शनिबार, फागुन १४, २०७८

काठमाडौँ, १३ फागुन । यस वर्षको ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेललाई प्रदान गरिएको छ । महेन्द्रनारायण निधिको १०० औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा खरेललाई रु एक लाख एक हजारसहित सम्मान गरिएको हो ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई पुरस्कार प्रदान गरिन् । राष्ट्रपतिले खरेलसहित झापाका पुराना कांग्रेस नेता पूर्णानन्द शर्मा दाहाललाई पनि नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरिन् । यस्तै ‘प्रेमसागरी देवी निधि पुरस्कार’बाट सरस्वती चौधरी र सुवर्ण ज्वारचन पुरस्कृत भएका छन् । उनीहरूले जनही रु एक लाख एक हजार प्राप्त गरेका छन् ।    
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा महेन्द्रनारायणले युवावस्थादेखि गरेको सङ्घर्षको चर्चा गरेका थिए । उनले अहिंसात्मक आन्दोलनका पक्षपाती निधिले सधैँ सत्य, न्याय, समानताका पक्षमा आफूलाई उभ्याएर एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्र्वाह गरेको बताए ।  कार्यक्रममा कांग्रेस नेता विलमेन्द्र निधिले सामाजिक र राजनीतिक रुपान्तरणमा पिता महेन्द्रनारायणको योगदान नेपालको राजनीतिक इतिहासमा सधैँ स्मरणीय रहेको बताए । 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार