भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई

शनिबार, फागुन १४, २०७८

काठमाडौँ, १४ फागुन । नेपाली साहित्यका विराट प्रतिभा एवं हाँस्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको छ ।  भैरव पुरस्कार गुठीले राजधानीमा गरेको कार्यक्रममा गुठीका अध्यक्षसमेत रहेका साहित्यकार रोचक घिमिरेले २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुँइटेललाई प्रदान गरे । 
यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपैयाँ रहेको छ । पहिलो पटक यसै वर्षदेखि घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरियो । एक लाख एक हजार १११ रुपैयाँ राशिको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारितालगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई अब वर्षेनी प्रदान गरिने गुठीले जनाएको छ ।

यसैगरी ५१ हजार १११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरियो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरू क्रमश ःग्वगं, लुँइटेल र भौकाजीको योगदान बारेमा क्रमशःश्रीओम श्रेष्ठ रोदन, डा रमेश शुभेच्छुक र दिव्य गिरीले प्रकाश पारेका थिए । 
पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामेश्वर फुयाल तथा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समृद्ध साहित्यले समन्नुत समाज  निर्माणमा सहयोग गर्ने भएकाले साहित्यको विकासका लागि मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा ‘सम्झना भैरव स्मृतिग्रन्थ’ को विमोचन गरिएको थियो । विमोचित कृतिको समीक्षा गर्दै वरिष्ठ साहित्यिक पत्रकार तथा गुठीका उपाध्यक्ष विजय चालिसेले नेपाली साहित्यको हाँस्य व्यङ्ग्य क्षेत्रमा अर्यालको योगदान अतुलनीय रहेको बताए । 
कार्यक्रममा गुठीका सचिव वसन्त रिजालले गुठीका गतिविधिबारे प्रकाश पार्नुभएको थियो भने गुठीका सदस्यहरू प्रा डा दीपक अर्याल, गोपाल बराल, उद्धव रायमाझीलगायतका वक्ताहरूले अर्यालको साहित्यिक योगदानबारे चर्चा गरे ।    
यसैबीच गुठीको आजै सम्पन्न साधारणसभाले रोचक घिमिरेको अध्यक्षतामा गुठीको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । गुठीको उपाध्यक्षमा विजय चालिसे, सचिवमा वसन्त रिजाल र कोषाध्यक्षमा अजीत नेपाल रहनु भएको छ । त्यस्तै सदस्यहरूमा बद्री अर्याल ,रश्मी शर्मा, गोपाल बराल, प्रा डा दीपक अर्याल, उद्धव रायमाझी, गोविन्द घिमिरे ‘वेदमणि’, मेनका पोखरेल, घनश्याम प्रसाई र निर्मल अर्याल रहेका छन् । 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार