नेपाल भाषाको संरक्षण गर्ने ‘सिक्कीम नेवा गुठी’ लाई दुई लाखको पुरस्कार  

शनिबार, फागुन १४, २०७८

मोरङ, १४ फागुन । नेपाल भाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि भारतमा योगदान दिने ‘सिक्कीम नेवा गुठी’ गान्तोकलाई यस वर्षको दुई लाख रुपैयाँ थैलीको ‘सुदर्शन–कपिला सिरपा’ः ११४२ द्वारा सम्मान गरिएको छ ।    
झी पुच : (नेपाल भाषा तथा संस्कृति सङ्घ) विराटनगरद्वारा आयोजित समारोहमा विगत २५ वर्षदेखि नेपाल भाषा, जात्रा र संस्कृति संरक्षणमा गुठीले महत्वपूर्ण योगदान पु¥याएकोले सम्मान गरिएको हो ।    प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुठीका अध्यक्ष निर्मलकुमार प्रधानलाई सम्मान पत्र र नगदसहित सम्मान गरे ।
सो अवसरमा उनले नेवार समुदाय भाषाको माध्यमबाट मुलुकको सबै क्षेत्रमा रहेको आफ्ना समुदायसँग जोडिएको बताउँदै यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री राईले सबै जातजातिको भाषा एवं संस्कृतिको विकास हुनु जरुरी रहेको छ भन्दै राज्यले मातृ र बोलचालको भाषाको संरक्षणमा विशेष ध्यान दिने बताए । 
मुख्यमन्त्री राईले नेपालको सभ्यता निर्माणमा नेवार समुदायको ठूलो योगदान रहेको छ भन्दै विगतदेखि नै यो समुदायले खानपान, शिक्षा, उपचार, लत्ताकपडा, वास्तुकला र मनोरञ्जनको विकासमा संरक्षण गरेको जानकारी दिए ।
उनले पहिचान र अस्तित्वका लागि भाषा जोगाउनुपर्छ भन्दै लोकतान्त्रिक गणतन्त्रमा सबै किसिमका विभेदको अन्त्य भै पहिचान स्थापित हुने विश्वास व्यक्त गरे । पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बुले सरकारले आदिवासी जनजातिको भाषा, साहित्य एवं संस्कृतिको उत्थान एवं संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।    
पुरस्कृत गुठीका अध्यक्ष निर्मलकुमार प्रधानले सिक्किम सरकारले नेपाल भाषालाई मान्यता दिएको जानकारी दिए ।  
सम्मान कार्यक्रममा सिरपाका संस्थापक सुदर्शन श्रेष्ठ, झी पुचका अध्यक्ष  हरिबहादुर श्रेष्ठ, महासचिव सुरेशलाल श्रेष्ठ, सदस्य सचिव भविष श्रेष्ठ, दिनेश श्रेष्ठ र नेवार महिला सङ्घका केन्द्रीय अध्यक्ष जस्मिला प्रजापतिले भाषको संरक्षणमा सबैको योगदान आवश्यक रहेको चर्चा गरे । 
सिक्कीममा गुठीले इन्द्रजात्राका दिन सार्वजनिक बिदा, नेपाल भाषालाई ऐच्छिक विषयका रुपमा अध्यापन गर्ने, न्हू दयाँ (नयाँ वर्ष), गाईजात्रा, बेल विवाह, ब्रतवन्ध लाखेनाच जस्ता सांस्कतिक लगायतका कार्यक्रम विगतदेखि सञ्चालन गर्दै आइरहेको जानकारी दिइयो । सिरपा ट्रष्टका दाता एवं संरक्षण सुर्दशन र कपिला श्रेष्ठले रु २० लाखको अक्षय कोष स्थापना गरी प्रत्येक दुई वर्षमा नेपाल भाषा र संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वका संस्था तथा व्यक्तिलाई चयन गरी पुरस्कार दिने व्यवस्था गरिएको छ ।    
 

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार