सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १४ फागुन । विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ । कोरोनाको विभिन्न ‘भेरियन्ट’मध्ये डेल्टा भेरियन्टका कारण नेपालमा धेरै नागरिकको मृत्यु भएको थियो । पछिल्लो समय फैलिएको ‘ओमिक्रोन’ भेरियन्ट बढी सङ्क्रामक देखिए पनि कम घातक पाइएको चिकित्सकको भनाइ छ । पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोनाका कारण मुत्यु भएको छ । नेपालमा कुल सङ्क्रमितको १.२ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । नेपालमा कोरोनाबाट सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेरसमूहका व्यक्तिले ज्यान गुमाएका छन् । सो उमेर समूहका दुई हजार ५०१ को सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका दुई हजार ३७५, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २९३ र ४० देखि ४० वर्प उमेर समूहका एक हजार ६६३ जनाले ज्यान गुमाएका छन् । यस्तै ८० वर्षभन्दा माथि उमेरसमूहका एक हजार ६३७, ३० देखि ३९ वर्ष उमेर समूहका ९३६, २० देखि २९ वर्ष उमेर समूहका ३७९, नौ वर्ष मुनिका ५१ र उमेर नखुलेका १३ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
थप २७५ मा सङ्क्रमण पुष्टि
शुक्रबार देशभर थप २७५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६२८ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधीबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ६७० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार २५५ रहेको छ । पछिल्लो समय थप ५५५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार ४५८ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २२ हजार ४९३ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २८० रहेको छ । अहिले होम आइसोलेसनमा नौ हजार २६ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २५४ आइसीयुमा ९२ र भेन्टीलेटरमा १५ जनाले उपचार गराइरहेका छन् । नेपालमा हालसम्म नौ लाख ५५ हजार ४५८ जना कोरोनाभुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २८० छ । शुक्रबार देशभरका खोपकेन्द्रमार्फत एक लाख २२ हजार ४९३ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १० लाख ५६ हजार ७७२ ले कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् । नेपालमा एक करोड ७३ लाख छ हजार ६४२ पूर्ण मात्रा, एक करोड ८४ लाख ५० हजार ७०९ पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।