राष्ट्रसङ्घ महासभा अध्यक्षको रुस र युक्रेनलाई वार्ताबाट विवाद समाधान गर्न आह्वान

शुक्रबार, फागुन १३, २०७८

अमेरिका (न्यूयोर्क), १३ फागुन  । संयुक्त राष्ट्रसङ्घ महासभाको ७६ औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गरेका छन् । 
‘म तुरुन्त युद्धविराम, तनाव कम गर्न र कूटनीति र वार्तामा फर्किनका निम्ति आह्वान गर्दछु’ अध्यक्षले विज्ञप्तिमार्फत् आग्रह गरे । 
संयुक्त राष्ट्रसङ्घको बडापत्र सार्वभौम समानताको सिद्धान्तमा आधारित रहेको कुरामा जोड दिँदै शाहिदले सबै सदस्य राष्ट्रलाई आफ्ना अन्तरराष्ट्रिय विवाद शान्तिपूर्णमाध्यमबाट समाधान गर्न आह्वान गरेका छन् । 
‘म सबै सदस्य राष्ट्रलाई अन्तरराष्ट्रिय कानून र अन्तरराष्ट्रिय मानवीय कानून अन्तर्गत आफ्नो दायित्व पूरा गर्न मेरो आह्वान पुनःदोहोर्याउँछु’ उनले भने । 
शाहिदले भने, युक्रेन र यहाँका जनतालाई मानवीय सहायताको लागि अहिले सुरक्षित र निर्बाध पहुँच प्राथमिकता र समयको आवश्यकता हो ।  

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच वार्ता

चीनका राष्ट्रपति सी चिनफिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्तामा युक्रेन सङ्कट समाधान गर्न आफूले समर्थन गर्ने बताएका छन् । 
पूर्वीयुक्रेनको स्थिति दुरुतरूपमा परिवर्तन भएको र समस्या समाधानका निम्ति दुवै पक्ष (रुस र युक्रेन)लाई सहयोग गर्ने राष्ट्रपति सीले उल्लेख गर्नुभएको सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिन र म्याक्रोनबीच युक्रेनको अवस्थाबारे छलफल
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनको अवस्थाबारे छलफल गरेका छन् । 
फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिको विस्तृत व्याख्या गरेका थिए । दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत भएको पनि बताइएको छ ।
युक्रेनको राजधानी शहरमा रुसी विशेष सैन्य कारबाही दोस्रो दिनमा प्रवेश गर्दा धेरै विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
सोमबार पुटिनले युक्रेनको अलग क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र हैसियतका रूपमा मान्यता दिएपछि  डोनबास क्षेत्रका मानिसलाई सुरक्षा गर्न विशेष सैन्य अपरेशनको आदेश दिइएको रुसको दाबी छ ।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र रुस विरुद्ध प्रतिबन्ध लगाएका छन् ।
युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार : विदेशमन्त्री
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताएका छन् । 
राजधानीमा रुसी आक्रमणकारी सेना अघि बढ्दै गर्दा उनको सो टिप्पणी आएको हो । युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौं, लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भने ।
–रासस–एएनआई

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  २१:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार