सञ्चालकद्वारा सहकारीका ६ करोड हिनामिना, ठगी कसुरमा अनुसन्धान सुरु

बुधबार, फागुन ११, २०७८

काठमाडौँ, ११ फागुन । काठमाडौँको पुरानो बानेश्वरस्थित एक सहकारीका सञ्चालकले बचतकर्ताको रकम आफन्तको नाममा राखी हिनामिना गरेको पाइएको छ । उनीहरूले भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थामार्फत बचतकर्ताबाट उठाएको रकम आफ्ना परिवारका सदस्यका नाममा जम्मा गरी रकम दुरुपयोग गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । रकम दुरुपयोग तथा हिनामिना गर्नेमा सहकारीका अध्यक्ष काठमाडौँ महानगरपालिका–३० बस्ने वर्ष ४२ का सुरज बस्नेत र उपाध्यक्ष काठमाडौँ–१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन् । उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।  सिआइवी प्रवक्ता महतोले भने, “निक्षेपकर्ता सदस्यले बचत गरेको रकम सञ्चालकको मिलेमतोमा सहकारी खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तका नाममा राखी रकम दुरुपयोग गरेको पाइएको छ, दुवैलाई पक्राउ गरी अनुसन्धान थालेका छौँ ।” उनीहरूले १५ जना निक्षेपकर्ताको रु छ करोड २५ लाख दुरुपयोग गरेको अनुसन्धानमा पाइएको छ । बचतकर्ताले भुक्तानी फिर्ता माग्दा सञ्चालकले नै सहकारी संस्थामा ताला लगाई फरार भएका थिए ।  सहकारी ठगी कार्यमा संलग्न रहेको भनी बचतकर्ताले दिएको जाहेरीका आधारमा सिआइवीको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालेको हो । प्रहरीले अन्य बचतकर्ताले उक्त सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनी कारबाहीका लागि जानकारी गराउनु ब्यूरोले अनुरोध गरेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २१:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार