सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १० फागुन : रोयल बास्केटबल एकेडेमी र नेपाल पुलिस क्लब टेन्डी शेर्पा स्मृति खुल्ला बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
राउन्ड रोविन लिगमा उपविजेता बन्दै फाइनल पुगेको पुलिसले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्ने भएको हो । अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलातर्फ पुलिस रोयलसङ मात्र पराजित भएको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुलिसले रुपन्देहीलाई ५०-३३ ले हरायो । पुलिसकी अनुषा मल्लले १५ स्कोर गरिन् । रुपन्देहीकी दीपिका गुरुङले सर्वाधिक २२ अंक जोडे पनि टिमलाई जिताउन सकिनन् ।
पहिलो क्वाटरमा १७-९ को अग्रता बनाएको प्रहरी दोश्रोमा ६-७ को झीनो अन्तरले पछि पर्यो । बाँकी दुई क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले १५-८ र १२-८ को प्रदर्शन गर्यो ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टाइम्स र गोल्डेनगेटले सेमिफाइनल यात्रा तय गरे ।
टाइम्सले कास्कीलाई ११३-६१ ले हरायो । टाइम्सका मविन्द्र क्षेत्री र कास्कीका राजेन्द्र पुनले समान २० स्कोर गरे । टाइम्स चारै क्वाटरमा अघि रह्यो । टाइम्सले २६-१०, ३२-१३, २८-१७ र २७-२१ अंक जोड्यो ।
गोल्डेनगेटले ड्रिम टिमलाई १०२-७९ ले पाखा लगायो । गोल्डेनगेटका विक्रम डंगोलले २३ अंक बटुले । उता ड्रिम मिटका रविन बस्नेतले ३२ स्कोर गरे पनि जितका लागि पर्याप्त भएन ।
सुरुआतमा २०-१९ को साँघुरो अग्रता लिएको गोल्डेनगेट दोस्रोमा २६-२६ को बराबरीमा रोकियो । तेस्रोमा ३३-२२ र चौथोमा २३-१२ को अग्रता बनाउँदै गोल्डेनगेटले जित सुनिश्चित गर्दै जित अन्तर पनि फराकिलो बनायो ।
सेमिफाइनलमा गोल्डेनगेटको भेट टाइम्ससँग हुनेछ । अर्को सेमिफाइनल रोयल र नेपाल आर्मीबीच हुने छ ।
आर्मी दोस्रो स्थानमा उक्लियो
संकटा क्लबविरुद्ध ३–१ अन्तरको जितसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
मंगलबार दशरथ रंगशालमा भएको दोस्रो खेलमा आर्मीको जितमा सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । संकटाका लागि उत्तम राईले सान्त्वना गोल गरे ।
खेलमा आर्मीले पुनरागमन गर्दै तीन अंक जोडेको हो । आर्मीले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको १४औं मिनेटमा उत्तम राईले गोल गर्दा संकटाले अग्रता बनायो । पहिलो हाफमा १–० ले पछि परेको आर्मीलाई सन्तोषले खेलमा फर्काए । उनले ५९औं मिनेटमा गोल गरे ।
जर्जप्रिन्सले ७३औं मिनेटमा गोल गर्दा आर्मीले २–१ को अग्रता बनायो । बैकल्पिक खेलाडी टेक बहादुर बुढाथोकीले खेल सकिन ५ मिनेट बाँकी हुँदा गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।
जितसँगै आर्मी १२ खेलबाट २२ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । यता, संकटा भने लगातार खराब प्रदर्शन पछि समान खेलबाट १५ अंक जोड्दै सातौँ स्थानमा झरेको छ ।
यस अघि मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै दोस्रो स्थानमा पुगेको एनआरटी फुटबल क्लब तेस्रो स्थानमा झरेको हो ।
जारी लिगको १२औं चरणका खेल सकिँदा मछिन्द्र च्याम्पियन भइसकेको छ भने च्यासल यूथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भएको छ ।