अखाद्य वस्तु बिक्री वितरण गर्ने ललितपुरका दुई कम्पनी सिल गरियो

मंगलबार, फागुन १०, २०७८

ललितपुर, १० फागुन । ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा रहेको स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालिमा प्रहरीले सिल गरेको छ ।  अखाद्य वस्तु उत्पादन एवं बिक्री गरेको आरोपमा सोमबार प्रहरीले सिल गरेको हो ।  सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१ घर भई हाल काठमाडौं ज्याठा बस्ने ४४ वर्षीय नर बहादुर श्रेष्ठले ती कम्पनी सञ्चालन गर्दै आएका थिए ।  ललितपुर सुनाकोठीमा केही व्यक्तिहरुले अखाद्य बस्तुहरुको उत्पादन एवं बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचना दिएपछि प्रहरी त्यहाँ पुगेको थियो । 

महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौंबाट खटिएको बिशेष टोलीले खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलको रोहबरमा दुबै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु नष्ट गरी कम्पनीहरू सिल गरेको हो ।  खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमति समेत नलिई विगत ३ वर्षदेखि दुवै कम्पनी सञ्चालनमा रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

अनुसन्धानमा म्याद नाघेका र बजारमा बिक्री वितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका एवं म्याद नाघेका पाउरोटीहरुलाई पुनःधुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाएर बजारमा बिक्री वितरण गर्दै आएको खुलेको छ ।  यस सम्बन्धमा खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलबाट कारबाही एवं आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार